६ वर्ष, ३५९ दिन। २०५८ जेठ २२ देखि २०६५ जेठ ६ सम्मको अवधि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का लागि महत्वपूर्ण रह्यो। यस अवधिमा परम्परागत शक्तिले पनि आन्तरिक रुपमा धेरै उथलपुथल व्यहोर्यो । कहीँ न कहीँ जसको कारक देखिए तत्कालिन राजा ज्ञानेन्द्र शाह।
०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र भएको नरसंहारमा तत्कालिन राजा वीरेन्द्र शाहलगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको हत्या भयो। त्यसको भोलिपल्टै तत्कालिन युवराज दीपेन्द्र शाहलाई राजा घोषित गरियो। तर, राजा घोषित भएको ३ दिनमै उनको मृत्यु भएपछि ज्ञानेन्द्र शाहले राज्याभिषेक गरे। उनले नेपालकै इतिहासमा दुईपटक राजा हुने अवसर पाए। यसअघि ००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारत गएपछि राणा शासकहरूले उनलाई राजा बनाएका थिए।
दरबारमै जन्मिएर दरबारमै हुर्किएको परम्परागत शक्तिलाई निश्चय नै त्यहाँ हुने साना–साना घटनाहरुले पनि ठुलो प्रभाव पार्थे। र, ज्ञानेन्द्र राजा भएपछि त्यसको असर परम्परागत शक्तिमा पनि पर्यो। राजा ज्ञानेन्द्रको राज्याभिषेक हुनेबित्तिकै राप्रपाभित्र एक खालको खिचलो सुरु भयो। किनकि राप्रपाका केही नेताहरु राजा ज्ञानेन्द्रलाई ‘दरबार हत्याकाण्ड’ का रचयिता मान्ने गर्थे। राजा बन्नैका लागि ज्ञानेन्द्रले विरेन्द्रको वंशनास गरेको आरोप उक्त पक्षले लगाउँदै आएको थियो।
राप्रपाभित्रको अर्को पक्ष भने ‘दरबार हत्याकाण्ड’मा ज्ञानेन्द्रको संलग्नताबारे मौन थियो। उक्त पक्षले घटना जसरी भएपनि आफूहरु दरबारबाटै जन्मिएकाले अन्य राजनीतिक दल जसरी राजा र दरबारको विरोध गर्न नहुने कुरामा प्रष्ट थिए। त्यसो गर्दा आफूहरुको अस्तित्व नै मेटिन सक्ने भन्दै उक्त पक्ष सचेत थियो।
राप्रपाभित्रको किचलो उत्कर्षमा पुगेका बेला राजा ज्ञानेन्द्रले ०५९ असोज १८ गते जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्षम’ घोषित गर्दै अपदस्थ गरे। पहिलेदेखि नै आन्तरिक विवादमा फसेको राप्रपामा पनि त्यो बेला निकै हलचल मच्चियो। राजाको कदमपछि नेपाली कांग्रेस, नेकपा एमाले, जनमोर्चा नेपाल, नेपाल मजदुर किसान पार्टी र नेपाल सदभावना पार्टी (आनन्दी देवी) गरी ५ दल एक ठाउँमा आए। त्यसबेलासम्म दरबारनिकट भनिएको राप्रपा अन्योलग्रस्त रुपमा गुज्रिरहेको थियो। राप्रपाभित्र स्वभाविक रुपमा राजाको कदमलाई हर्ने दृष्टिकोणमा पनि मतभेद भइरहेको थियो।
त्यहीबेला ०५९ असोज २८ गते राजाले राप्रपाबाट लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री नियुक्त गरे। त्यसलगत्तै ०६० मंसिरमा राप्रपाको ऐतिहासिक तेस्रो महाधिवेशन सम्पन्न भयो। त्यसमा अध्यक्ष पदका लागि प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणा र रविन्द्रनाथ शर्माले उम्मेदवारी दिएका थिए। तर, राणा विजयी भए।राणा पहिल्यैदेखि ज्ञानेन्द्रको विपक्षमा थिए । त्यसैले अध्यक्ष चुनिएपछि उनले जननिर्वाचित प्रधानमन्त्रीलाई वर्खास्त गर्ने राजाको कदमविरुद्ध उभिए । ज्ञानेन्द्रले चन्दपछि सूर्यबहादुर थापालाई प्रधानमन्त्री नियुक्त गरे। थापाको कार्यकाल २०६१ जेठ २१ सम्म रह्यो।
०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले पुनः अर्को कदम चाले। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पुनः पदच्युत गरी शासनसत्ता आफ्नो हातमा लिँदै आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद गठन गरे। जसका कारण राप्रपाभित्र विवाद सुरु भयो। एउटा पक्षले राजाको कदम अनुपयुक्त भन्यो भने अर्कोले परिस्थितिजन्य बाध्यता । यहीकारण राप्रपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुग्यो। ०६२ मंसिर २२ गते राप्रपाका तत्कालिन महामन्त्री कमल थापा राजाको मन्त्रीमण्डलमा गृहमन्त्री नियुक्त भए। पार्टीका शीर्ष नेतृत्वसँग चर्काचर्की भएपछि थापा राप्रपा फुटाउने खेलमा जुटे। ०६२ पुस २६ गते महामन्त्री थापाले राप्रपा फुटाएर राप्रपा नेपाल गठन गरे।
थापाले राप्रपा नेपाल गठन गरेलगत्तै सूर्यबहादुर थापाले पनि अध्यक्ष पशुपतिशमसेर राणासँग असन्तुष्टी राख्दै पार्टी छाडे र राष्ट्रिय जनशक्ति पार्टी गठन गर्दै राप्रपा चौथोपटक फुटाए। यसरी पार्टी स्थापनाको एक दशकमा पूर्वपञ्चहरू राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय जनशक्ति पार्टी गरी तीन पार्टीमा विभाजित भए।
०६४ मा भएको संविधान सभाको पहिलो निर्वाचनमा यी तीनै पार्टीले भाग लिए। निर्वाचनमा तीनैले जम्मा १५ सिट पाए । जसमा राप्रपाले ८, राप्रपा नेपालले ४ र राष्ट्रिय जनशक्ति पार्टीले ३ सिट हासिल गरे। निर्वाचनमा अपेक्षाकृत जनमत हासिल गर्न नसकेपछि राप्रपाका दुई घटक नजिक हुन थाले। पुराना नेताहरुका अनुसार त्यो बेला राप्रपा र राष्ट्रिय जनशक्ति नजिक हुनुको कारक बनेका थिए सूर्यबहादुर थापा। किनकि उनी आफ्ना छोरा सुनिलबहादुर थापालाई राष्ट्रिय राजनीतिमा ल्याउन चाहन्थे। उक्त चाहना राजपाले पूरा गर्न सक्दैनथ्यो। संयुक्त राष्ट्रसंघको जागिरे समेत रहेका सुनिल पनि अवकाश पाउने बित्तिकै राजनीतिमा आउन चाहन्थे।
राप्रपा र राजपानजिक भए पनि उनीहरुबीच एकता हुन करिब ३ वर्ष लाग्यो। ०६७ मा सुरु भएको राप्रपा–राजपाबीचको एकता ०७० मा जेठमा मात्र टुंगो लाग्यो। जसका कारण पशुपतिशमसेर राणा र सूर्यबहादुर थापा पुनः एकै ठाउँमा आइपुगे। एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नै राखियो।
०७० मंसिरमा भएको दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा घटकबाट दुई पार्टी राप्रपा र राप्रपा नेपालले भाग लिए। प्रत्यक्षमा कुनै सिट जित्न नसके पनि हिन्दुराष्ट्र र राजसंस्था पुन:स्थापनाको मुद्धा जनस्तरमा पुर्याउँदै कमल थापाको राप्रपा नेपालले समानुपातिकमा २४ सिट प्राप्त गर्यो । राप्रपाले भने प्रत्यक्षमा ३ र समानुपातिकमा ९ सिट गरि जम्मा १२ स्थान प्राप्त गर्यो ।
०७२ वैशाखमा राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाको निधन भयो। राप्रपामा नेतृत्व विवाद चलिरहेकै बेला राप्रपा घटकहरुबीच एकताको बहस सुरु भइसकेको थियो। ०७२ पुसमा राप्रपा केन्द्रीय समिति बैठकमा हेमजंग गुरुङ प्रस्तावक र ३६ केन्द्रीय सदस्य समर्थक रहेर विचार मिल्ने शक्तिहरूसँग एकीकरणमा जानुपर्ने प्रस्ताव अगाडि सारियो। तर, त्यो बेला राप्रपा र राप्रपाबीचको विवाद उत्कर्षमा पुगेको थियो। राप्रपा अध्यक्ष राणाले विज्ञप्ति निकालेर एकता प्रक्रिया स्थगित भएको घोषणा गरिदिए भने राप्रपा नेपालका अध्यक्ष थापाले पनि एकताको सम्भावना नै अन्त्य भएको घोषणा गरे।
तर, विवादै विवादकाबीच ०७३ साउन २५ गते एकता भयो। ०७३ फागुनमा एकता महाधिवेशन सम्पन्न भयो। जसले राजासहितको प्रजातन्त्रको सिद्धान्त पारित गर्यो । त्यो बेलासम्म विवाद सकिएको थिएन। अर्का नेता डा. प्रकाशचन्द्र लोहनीले महाधिवेशनलगत्तै आफू नेतृत्वको राप्रपा (राष्ट्रबादी) गठन गरे। पद बाँडफाड लगायतका कारणले रुष्ट भएर लोहनी समूहले राप्रपाबाट अलग्गिएर छुट्टै घटक निर्माण गरेको नेताहरु बताउँछन्।
पार्टी एकता भएको एक वर्षमै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रवेशको विषयमा कुरा नमिलेपछि राप्रपा पुनः विभाजित भयो। प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनकै मुखमै ०७४ साउनमा पशुपतिशमशेर नेतृत्वको समुहले राप्रपा फुटाएर राप्रपा (प्रजातान्त्रिक) गठन गर्यो। फलस्वरुप निर्वाचनमा दुवै राप्रपाले नराम्रो हार व्यहोरे।
राजतन्त्रको सपना
०६५ जेठ २९ गते नारायणहिटी दरबार छाड्दै गर्दा पूर्वराजा ज्ञानेन्द्र शाहले भनेका थिए, ‘मैले देश छाडेर जाने सोच बनाएको छैन। म मातृभूमि नेपालमै बसी मुलुकको वृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु।’ राजसंस्था पतन भएको यत्रो वर्ष भइसक्दा पनि पूर्व राजा विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भइरहन्छन्। नेपाल दौडाहा गरिरहन्छन्। आफूलाई बोलाइएका सबैजसो कार्यक्रममा राजसंस्था पुनस्थापनाको कुरा निकाल्छन्। त्यस्ता कार्यक्रममा ‘राजा आउ देश बचाउ’ भन्ने नारासहित पूर्वराजाको भाषणमा राजसंस्था पुन:स्थापनाका कुरा आउँछन्।
गत ०७४ पुस १४ गते नेपालगंञ्ज पुरेका ज्ञानेन्द्र सुटुक्क लखनउ गएर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटे। राजपाट गुमेको छटपटीमा रहेका पूर्वराजाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट मानिएका आदित्यनाथसँग गरेको भेट राजनीतिक होइन भनेर भन्न सक्ने अवस्था छैन। योगीको राजनीतिक स्कूलिङ हिन्दूत्व र हिन्दू राष्ट्र हो। त्यसकारण नेपालगञ्ज पुगेका पूर्वराजा र योगी आदित्यनाथसँगको भेटलाई अर्थपूर्ण मान्न सकिन्छ।
भारतको उडिसास्थित गोवर्धन मठ जगन्नाथपुरीका शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं वर्षको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन गत २२ गते फेरि अर्कोपटक भारत जाँदै गरेका पूर्वराजाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै लक्ष्य पूरा गर्न फरक फरक बाटो अपनाए पनि सिद्धान्त नछाड्ने दावी गरे। उनले त्यहाँ भने, ‘रुखको पात फेरिए पनि जरा फेरिँदैन।’
उदारहण जति घुमाउरो भए पनि यसो भन्नुको मतलब एउटै हो, राजसंस्था पुन:स्थापना । एउटा कोणबाट हेर्दा राजसंस्था पुनस्थापनाको आशामा हिँडिरहेका पूर्वराजा एउटा शक्ति निर्माणमा लागेको स्पष्ट देखिन्छ भन्नु पनि स्वभाविक हो। पूर्वराजाले विभिन्न स्थानहरुमा घुमाउरो पारामा ‘तपाइँको साथ पाइन्छ भने म आँट्न तयार छु’ भने पनि कस्तो राजसंस्था, कसरी पुन:स्थापना गर्न सकिन्छ भन्ने कुरा सार्वजनिक गरेका छैनन्। तर, कमल थापा नेतृत्वको राप्रपाले संसद मातहतको राजतन्त्रमा सिद्धान्त अवलम्बन गरेर अगाडि बढिरहेको छ भने लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीले राजतन्त्र नै पुन:स्थापनाको माग गर्दै आएको छ।
त्यस्तै केही समय अगाडि राप्रपा फुटेर बनेको पशुपतिशमशेर नेतृत्वको राप्रपा प्राजातन्त्रिकले अहिलेसम्म राजसंस्थासम्बन्धी कुनै आधिकारिक सिद्धान्त सार्वजनिक नगरेपनि स्पेसखबरसँगको कुराकानीमा महामन्त्री सुनीलबहादुर थापाले राजतन्त्र र हिन्दुराष्ट्रको एजेन्डा समाप्त भइसकेको स्पष्ट पारेका छन्। महामन्त्री थापाले भनेका छन्, ‘संविधानलाई स्वीकार गरिसकेपछि राजतन्त्र र हिन्दुराष्ट्रको एजेन्डा समाप्त भएको छ।’
याे पनि पढ्नुस्: