कञ्चनपुरकाे भीमदत्त नगरपालिका-२, की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना रहस्यमय बन्दै गएको छ। प्रहरीलेमुख्य अभियुक्त भनेर पक्राउ गरेका भीमदत्त नगरपालिका–१९ बाँगफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्ट डीएनए परीक्षण नमिलेपछि रिहा भएका छन्।
निर्मलाकै साथीहरु रोशनी बम र बबिता बम पनि छुटे। जिल्ला अदालत कञ्चनपुरले उनीहरुमध्ये राेशनीलार्इ साधारण तारेखमा र बबितालाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न अादेश दिएपछि घर फर्किएका छन्। अनुसन्धानका लागि पक्राउ गरिएका सबै पात्र निर्दाेष हुँदै छुटिरहेका छन्। तर, खास अपराधी काे हाे अहिलेसम्म पत्ता लाग्न सकेको छैन।
प्रहरीले अपराधीलार्इ जोगाउने खेल खेलेको भन्दै गृह मन्त्रालयले घटनाबारे अनुसन्धान तथा छानविनका लागि उच्चस्तरीय समिति बनाउँ५। तर, समितको छानविन सतहमै रहेका बेला समितिका एक जना सदस्यले आफ्नो शक्तिशाली समूहबाट हत्या हुन सक्ने भन्दै समितिबाट राजीनामा दिएको घोषणा गर्छन्। त्यसको दुर्इ दिनपछि उनै सदस्यले गृहमन्त्री, छानविन समिति र आफ्नो उद्देश्य मिलेको भन्दै अाफू पुन: समितिमा फर्केको घोषणा गर्छन्। ती व्यक्ति हुन्, सरकारका उपसचिव वीरेन्द्र केसी।
छानविन समितिबाट राजनीनामा दिएको दुर्इ दिनपछि उनै उपसचिव केसीले बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी समितिमा फर्किएको घोषणा गरे। अपराधीको टुंगो छैन। तर, उच्चस्तरिय समितिका सदस्य नै रहस्यमय तरिकाले प्रस्तुत भइरहेका छन्। पत्रकार सम्मेलनमा बोल्दै उनले भने,'मेरो र उहाँहरुको उद्देश्य एउटै रहेछ। त्यसैले म फेरि समितिमा फर्किएँ।'
राजीनामापछि छलफल गर्ने अवसर पाएको र छलफलपछि आफू पुन: समितिमा फर्कन सहमत भएको केसीले पत्रकार सम्मेलनमा जानकारी गराए। गृहमन्त्री, छानविन समितिका संयोजक र प्रहरी महानिरीक्षकसँगको छलफलमा आफूले सुरक्षाको ग्यारेन्टी पाएकाले समितिमा फर्किएको समेत दाबी उनले गरे।
'मोटरसाइकलमा आएको व्यक्तिले धम्क्यायो'
केसीले मोटरसाइकलमा आएका एक जना व्यक्तिले धम्क्याएको बताए। ती मोटा व्यक्तिले 'तपार्इँ एक्लै हुनुहुन्छ, ख्याल गर्नुस् है, यहाँ पहिलेपनि मानिसलार्इ ट्रकले हानेर ब्रेक फेल भयो पनि भनेका छन्' भन्दै धम्क्याएको उनले बताए।
समितिका अन्य सदस्यहरुसँग साइकल फालिएको 'डेमो'को जाँचका गरिरहेका बेला आफूलार्इ ती मोटरसाइकलमा आएका मोटा व्यक्तिले धम्की दिएको केसीले बताए। आफूलार्इ ती व्यक्तिले धम्की दिइरहेका बेला त्यहाँ कोही नरहेको समेत उनले बताए।
केसीले धम्कीपछि आफू एकदमै त्रसित भएको पनि बताए। तर, उनले घटनाबारे समितिको संयोजकलार्इ समेत जानकारी नदिएर किन राजीनामा दिए त? यस प्रश्नको जवाफ उनीसँग थिएन। कुनै व्यक्ति मोटरसाइकलमा आएर धक्याएर जाँदा पनि उनले मोटरसाइकलको नम्बर टिप्न नसकेको स्वीकार गरे।