चाडबाडले राजधानीलाई छपक्कै छोपेको छ। दशै,तिहार र छठको चहलपहल बाक्लिएको छ। यो बेला हरेक वर्ष यो खाल्डोमा एक किसिमको सन्नाटा छाउँछ। लाग्छ, यो चहलपहल त्यही सन्नाटाअघिको चित्कार हो।
दिउँसो १२ बजे। चर्को घाम उत्कर्षमा पुगेको छ। बागमती आफ्नै गतिमा बगिरहेकी छन्। तर छेवैमा रहेका दुई वृद्ध मुस्कुराउन सकेका छैनन्। शान्तिनगरस्थित बागमती किनारमा रहेको निसहाय सेवा सदन। दुई दशकअघि स्थापना भएको यो वृद्धाश्रममा ३८ जना जेष्ठ नागरिक बस्छन्। तिनैमध्येका हुन् कृष्णचन्द्र श्रेष्ठ र जयप्रसाद न्यौपाने। कृष्णचन्द्र ९२ वर्षमा लागिसकेका छन् भने जयप्रसाद ८६ वर्ष पार गरेका छन्।
पूर्बनिर्धारित समयअनुसार हामी उनीहरुको कोठा अगाडि उभिएका थियौं।
‘कल्लाई खोज्नुभा होला?’ एउटा वृद्ध स्वर सुनिन्छ। पछाडी फर्किँदा ठिङ्ग उभिएका छन् एक वृद्ध। सौन्दर्यताको मापक मानिने अगाडिका दुईवटा दाँत गुमाइसकेका उनी फेरि मुस्कुराइदिए हामीतिर हेर्दै। ओठको भित्रपट्टि फेरि देखियो दाँत झरिसकेको खाली ठाउँ।
‘यो कोठामा बस्ने बुबा कता हुनुहुन्छ?’
‘तपाइँ को हो र ?’ उनले प्रतिप्रश्न गरे र भने, ‘मै हो यहाँ बस्ने।’
त्यतिकैमा कार्यालयका एक कर्मचारी आए र भने ‘उहाँहरु तपाइँहरुको अन्तरर्वार्ता लिन आउनुभएको हो, अन्तर्वार्ता दिनुस्।’ उनी हिडेपछि वृद्धले जिज्ञासु बनेर हाम्रो अनुहार नियाल्न थाले। उनी जयप्रसाद न्यौपाने रहेछन्।
हामीलाई उनले आफ्नो कोठामा लिएर गए। कोठामा छिर्ने वित्तिकै एक किसिमको नमिठो गन्ध नाकमा ठोकियो. कोठामा दुईवटा खाट राखिएको छ। खाट वरपर विभिन्न प्रकारका औषधि छरिएका छन्। तन्नाको रङ धमिलो छ। सफा नभएर होइन। पुरानो भएर। विछ्यौनामा लगाइएका तन्ना पनि दुई वृद्ध झै पुराना भइरहेका छन्।
कृष्णचन्द्र श्रेष्ठ बुवा कता हुनुहुन्छ नि?’
प्रश्न भूइँमा झर्न नपाउँदै जयप्रसाद बाहिर दौडिहाले। उनी दश वर्षे बालक जस्तै लाग्छन् एकदमै चन्चल। एकैछिनमा उनले अर्का वृद्धलाई सँगै ल्याए। उनै रहेछन् कृष्णचन्द्र श्रेष्ठ अर्थात् जयप्रसादका रुम पार्टनर। कृष्णचन्द्र कसैको सहायता बिना हिडडुल गर्न नसक्ने रहेछन्।
शरीरमा टाँसिएका छाला। धमिलो आँखा। थरथर काँप्ने हातखुट्टा। दुबै वृद्धको अवस्था यही हो। कृष्णचन्द्रको खाट छेवैमा राखिएको छ आपतकालित चर्पी। उनी राती मात्र यो चर्पी प्रयोग गर्छन्। तर, जयप्रसाद भने राती,दिउँसो जहिले पनि राम्ररी हिँडडुल गर्न सक्छन्।
खाइलाग्दो शरीर थियो कुनैबेला कृष्णचन्द्रको, अहिलो कुप्रिएको छ। ‘कसैले बोक्न नसकेको भारी बोक्थें,’ पुराना दिन सम्झन खोज्छन् उनी। एक शताब्दि बाँच्न ८ वर्ष बाँकी छ, अर्थात् ९२ वर्षका भए उनी। पुराना दिन बिर्सिएका छन्। जति सम्झना छन्, भन्न सक्दैनन्।
पातलो शरीरका जयप्रसादले कुनैबेला भारत र नेपालका विभिन्न स्थनमा बसेर काम गरे। उनीचाहिँ विगत सम्झेर रोमान्चित हुने प्रयास गरिरहेका छन्। काठमाडौंका शान्तिनगरमा पहिलो सानोतिनो जंगल नै थियो कुनै बेला। बाहिरका मान्छे भरिँदै गएपछि यो ठाउँ घरहरुले भरिन थालेको जयप्रसादले प्रत्यक्ष देखे–भोगेका छन्।
‘पहिले सबै थियो अब त मेरो कोही रहेन,’ जयप्रसाद लामो श्वास फेर्छन्। जयप्रसादलाई यो चोलाले दुई कुरा सिकाएको छ। एउटा– मान्छे भएर जन्मिएपछि एकदिन मर्नैपर्छ। र, अर्को– बाँचुन्जेल कहिल्यै दुःखी हुनुहुँदैन। दुःखी के–का लागि हुने, एकदिन मर्नैपर्ने छ, आफ्नो मुखबाट झिकेर ख्वाएका सन्तानले त मर्नेबेला एक्लै छाडिदिन्छन्।’ यति भनिसकेर जयप्रसादको निधार झनै खुम्चियो।
मिजासिला स्वभावका जयप्रसादका अगाडिका दाँत छैनन्। तैपनि खुलेर हाँस्छन्। गिजा पुरै देखिन्छ। बुढेसकालमा आएर जीवन बुझेजस्तो लाग्छ उनलाई। उनलाई लाग्छ, उमेरमा खाने हो, रमाउने हो, खुसी हुने हो, बुढेसकाल त मृत्युलाई कुरेर समय बिताउने बेला मात्र हो। उनलाई लाग्छ– खान पाइएको छ, बस्न पाइएको छ, अरु के चाहियो ?
कुनैबेला काभ्रेमा उनको पनि परिवार थियो। अहिले को,कहाँ छन्, उनलाई थाहा छैन। उनलाई भेट्न पनि कोही आउँदैनन्। धेरै वर्ष भइसक्यो उनी यहाँ बस्न थाले। अब घरको याद पनि धुमिल भइसक्यो।
‘म घरको कुरै गर्न चाहन्न,’ उनलाई घरको सम्झना गर्नै मन छैन। यहाँ उनीजस्तै धेरै वृद्धवृद्धा छन्, उनीहरुले जयप्रसादलाई बुझ्छन्। त्यसैले उनलाई यही वृद्धाश्रम आफ्नो घर झैं लाग्छ। बाँचुन्जेलसम्मका दुःख सुखका साथी यिनै हुन् भन्छन् उनी।
कृष्णचन्द्र पनि जयप्रसादको भनाइमा सहमत छन्। यहाँसम्म आइपुग्दा कृष्णचन्द्रले धेरै उकाली ओराली पार गरे। कयौं घुम्तीहरुमा मोडिए र कयौं ठक्कर खाए। कृष्णचन्द्रलाई लाग्छ, भगवानले अन्त्यमा यहाँसम्म आइपुग्ने लेखेको रहेछन्। ‘अब त कतै जान सक्दिन, यही मर्छु,’ उनी भूइँतिर हेर्न थाल्छन्।
कृष्णचन्द्रले उमेरमा खुबै रमाइलो गरे। छोराछोरीलाई राम्रैसँग पालनपोषण गरेर हुर्काए। र, उनीहरुको विवाह गरिदिए। जब कृष्णचन्द्रलाई उनीह?ले पालनपोषण गर्ने बेला आयो। उनीहरु टाढिए। कृष्णचन्द्रका दिमागमा विगतका केही घटना ताजै छन्। उनलाई लाग्छ, ती घटना उनले नमरुन्जेलसम्म बिर्सिदैनन्।
आठ वर्ष पहिलेको कुरा हो। छोराहरुबाट उनी हेपिन पुगे। गाइबस्तुको जस्तै व्यवहार गर्न थाले। मिठो खान दिएनन्। राम्रो लाउन दिएनन्। उनलाई आफ्नै जीवनदेखि विरक्त लाग्यो। एकदिन आत्महत्या गर्ने योजना बनाए। काभ्रेको घरभित्रै आगो सल्काए। घरमा आगो लागेको गाउँलेले चाल पाएर उनलाई घरबाट निकाले। र, उनको ज्यान बच्यो। त्यसपछि उनी काठमाडौं आएर वृद्धाश्रममा बस्न थाले। उनको शरीरमा आगोले पोलेका खत अझै स्पष्ट देखिन्छन्। त्यो आगो त गाउँले जसोतसो निभाए। तर उनको मनको आगो अझै पनि दन्किरहेको छ। तीनवटी छोरी काठमाडौंमै बस्छन्। कहिलेकाहीँ भेट्न पनि आउँछन्। तर, कृष्णचन्द्रलाई सँगै लिएर जाने हिम्मत गर्दैनन्।
कृष्णचन्द्रका नातीहरु ठुला भइसकेका छन्। केही वर्ष पहिलेसम्म भेट्न आउँथे, अहिले आउँदैनन्। तपाइँलाई उनीहरुको माया लाग्दैन ? टाउको हल्लाउँदै उनी भन्छन्, ‘मायाँ त दोहोरो हुनुपर्छ एकोहोरो मायाले के गर्नु ?’