आइतबारदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा जलविद्युत् आयोजनामा थप लगानी खोजिएको जनाउँदै लगानीकर्ता उत्साहित बनेका छन् । पछिल्लो समय जलविद्युत् आयोजनामा लगानीको अभाव भइरहेको बेलामा लगानी सम्मेलनले लगानीको जोह गर्ने हुँदा उनीहरु थप उत्साहित बनेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेदलनको उद्घाटन सत्रमा पनि नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसर रहेको बताएका थिए। प्रधानमन्त्री दाहालले नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि हालसम्म तीन हजार दुई सय मेगावाट मात्रै उत्पादन भएको उल्लेख गर्नुहुँदै करिब पाँच हजार पाँच सय ६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी (पिपीपी) मा निर्माण चरणमा रहेका जानकारी दिए । विद्यमान एवं योजनामा रहेका भारत र चीनसँग जोड्ने अन्तरदेशीय प्रसारण लाइनहरूले ऊर्जा आदानप्रदानलाई सहज बनाउने उनको भनाइ छ । यस क्षेत्रभित्र विद्युत् सहकार्यलाई सहज तुल्याउन भारतसँग विद्युत् व्यापार सम्झौता, चीनसँग समझदारी र बङ्गलादेशसँग विद्युत् निर्यात समझदारीमा हस्ताक्षर गरेको पनि प्रधानमन्त्री दाहालले जानकारी दिए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत् आयोजनाहरुमा लगानीको वातावरण तय गर्न सम्मेलनले तय गर्ने भन्दै यसले लगानीकर्तालाई थप उत्साहित बनाएको बताए ।अध्यक्ष कार्कीका अनुसार सरकारले सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट उत्पादन र १३ हजार स्वदेशमा खपतको लक्ष्य लिएको छ । उक्त लक्ष्य कार्यान्वयन गर्नका लागि पनि सम्मेलनले सहयोग गर्ने उनको भनाइ छ ।
जलविद्युत् उद्यमी तथा इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गरागाईंले लगानी सम्मेलनले नेपालमा लगानी गर्नका लागि स्वदेशी तथा विदेशी व्यवसायीका लागि ढोका खुलेको बताए। यसले निजी लगानीकर्तालाई उत्साह बढाएको उनको भनाइ छ । जलविद्युत्मा सबै किसिमका उद्योगीहरु लगानी गर्न उत्साहित देखिएका भन्दै उनले यसमा चाँडोभन्दा चाँडो धेरै परियोजना बनाउनुपर्नेमा जोड दिए । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलन भोलिसम्म चल्नेछ ।
सम्मेलनमा लगानीका निम्ति एक सय ५३ परियोजना सोकेसमा रहेको नेपाल लगानी बोर्डको भनाइ छ । बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिएका छन् । लगानीका निम्ति सोकेसमा राखिएको परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिएको छभने १९ परियोजनाका लागि आशयपत्र आह्वान गरिएको बोर्डले जानकारी दिएको छ ।