सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार जतिसक्दो चाँडो मिडिया काउन्सिल, सामाजिक सञ्जालसम्बन्धी र आमसञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा रहेको बताएकी छिन् ।
मंगलबार आयोजित सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा आफ्नो धारणा राख्दै सरकारका प्रवक्ता समेत रहनुभएकी मन्त्री शर्माले मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा छलफलको क्रममा रहेको र अन्य विधेयक पनि ल्याउने क्रममा रहेको बताइन् । मन्त्री शर्माले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को ६ नं बुँदामा उल्लेख गरिएको परिषद् गठनबारे प्रस्ट पार्दै परिषद्को नेतृत्व सञ्चार मन्त्रालयले नै लिनुपर्नेमा जोड दिइन् ।
परिषद्को अध्यक्ष सञ्चार तथा सूचना प्रविधिमन्त्री वा राज्यमन्त्री हुने र अन्य सम्बन्धित मन्त्रालयका सचिव र अन्य सम्बन्धित निकायका प्रतिनिधि सदस्य रहने गरी अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले समग्र कानुनलाई समेट्नेभन्दा पनि रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभ्ने हिसाबले सार्वजनिक सेवा प्रसारण विधेयक ल्याएको उल्लेख गर्दै सञ्चार मन्त्रालयलाई नै विश्वास गरेर जिम्मेवारी दिनुपर्ने धारणा राखे ।रासस