कुनै समयको शक्तिकेन्द्र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचमा नराम्ररी हार ब्यहोर्नुपर्याे। त्यो हारले राजनीतिक वृत्तमा यस शक्तिसँगसम्बन्धी अनेक अनुमान भइरहेका छन्। जस्तोः
- अब नेपालमा परम्परागत शक्तिका दिन गए।
- परम्परागत शक्ति कहिल्यै पतन हुँदैन, एकदिन पुनः शक्तिमा आउँछ।
- शक्ति हत्याउन पूर्वराजा दौडधुपमा लागेका छन्।
- परम्परागत शक्तिहरु अब नयाँ ढंगले अगाडि बढ्नेछन्।
यसैअनुसार पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय ‘संसद मातहतको राजतन्त्र’ भन्ने अवधारणालाई परम्परागत शक्ति भनिने राप्रपाका घटकमार्फत बहसमा ल्याउन प्रयत्नशील छन्।
प्रतिनिधि सभा निर्वाचन २०७४ कै पूर्वसन्ध्यामा टुक्रिएको कमल थापा नेतृत्वको राप्रपा र नयाँ गठन भएको पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक दुवै ’लोकतान्त्रिक गठबन्धन’को हिस्सा भएर निर्वाचनमा होमिए। तर, बामपन्थी गठबन्धनको समर्थनमा राप्रपाका राजेन्द्र लिङदेनले झापाबाट बाहेक कुनै पनि दलका उम्मेदवारले जित्न सकेनन् । र, राष्ट्रिय दलको मान्यता पाउन सकेनन् ।
दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फको समेत मत गरी दुई समूहले ३६ सिट जितेर संसदमा राम्रै उपस्थिति जनाए र सरकार संचालनमा हिस्सेदारीसमेत लिएका थिए । तर, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने राप्रपाले न राजसंस्था पुन:स्थापना, न धर्मराजनीति कुनै पनि मुद्धाबाट लाभ लिन सकेन। र, प्रतिनिधिसभामा १ सिटमै सीमित हुनपुग्यो।राप्रपा नेपालले चुनावी हारको आत्मसमीक्षा गर्न पुस १८, २० र २१ गते (२०५४) केन्द्रीय समितिको बैठक बसाल्यो । जसबाट निष्कर्ष निकाल्यो,‘हारको कारण पार्टी विभाजन र कांग्रेसको धोका’।
आत्मसमीक्षापछि अध्यक्ष थापाले एक कुराकानीका भनेका थिए,‘राजसंस्था पुन:स्थापना र हिन्दूराज्यको पक्षमा रहेका जनताले यो निर्वाचनमा राप्रपालाई मत दिने पक्का थियो र परम्परागत विचारको एउटा ठूलै हिस्साले संविधानसभा निर्वाचनमा दिएको मतलाई आधार मान्दै हामीले केही आशा पनि गरेका थियौं। तर, हामीले आशा गरेभन्दा नराम्रोसँग हार व्यहोर्नु पर्याे, त्यसको कारण राप्रपा फुट हो।’
अध्यक्ष थापाका अनुसार जब दुई राप्रपाबीच एकता भयो, त्यो बलियो राष्ट्रवादी र हिन्दुवादी परम्परागत शक्तिको रुपमा देखापरेको थियो । तर, राष्ट्रवादी शक्ति बलियो नहोस् र नेपाल कहिल्यै हिन्दु राष्ट्र बन्न नसकोस् भन्ने चाहना राख्ने देशी–विदेशी शक्तिहरुले षडयन्त्र गर्न थालेको थापाको ठहर छ। पार्टीभित्रका स्वार्थी, सत्तालोलुप र केही भ्रष्ट व्यक्तिले पशुपति शमशेरलाई उचालेको र उनलाई एउटा मोहरा बनाएर पार्टी विभाजन गराएकाले नै निर्वाचनमा नराम्रो हार व्यहोर्नु परेकोसमेत थापाको दावी थियो।
४ महिनाअघि (२०७४ चैत ४) पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका तीनवटै घटकका नेताहरुसँग गोप्य भेटवार्ता गरेका थिए। भेटको उद्देश्य थियो निर्वाचनमा नराम्ररी पराजय बेहोरेका तीनै नेताहरुलाई पार्टी एकताको सुझाव दिनु। पूर्वराजाको सुझाव राप्रपाका विभिन्न घटकले स्वीकार गरे।
२० फागुनदेखि झापाको दमकस्थित हिमालयन टि स्टेट गार्डेनमा रहेका पूर्वराजाले त्यसदिन राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, केन्द्रीय सदस्यद्वय भाष्कर भद्रा र प्रल्हाद शाह तथा पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)का महामन्त्री राजाराम श्रेष्ठ र केन्द्रीय सदस्यद्वय सगुन लावती र सुरेश आचार्य तथा डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राप्रपा (राष्ट्रवादी)का डा सुष्मा आचार्य, केशव श्रेष्ठ र ताराप्रसाद लुइँटेलसँग संयुक्त रुपमा भलाकुसारी गरेका थिए।
त्यसपछि जेठ ६ देखि ९ सम्म भएको केन्द्रीय परिषद् बैठकलगत्तै राप्रपाले पार्टी एकताका लागि तामाङको संयोजकत्वमा वार्ता समिति गठन गर्याे । वीरगञ्जमा आयोजित केन्द्रीय परिषद बैठकमा कमल थापाले एकताका लागि आवश्यक परे आफू अध्यक्ष छाड्नसमेत तयार रहेको बताएका थिए।
तर, गत असार १८ गते राप्रपाका अध्यक्ष कमल थापाले पार्टी एकता वार्ता तत्काल रोक्न आदेश दिए। उनले हिन्दू राष्ट्र र राजसंस्थाबारे राप्रपा प्रजातान्त्रिकको आधिकारिक धारणा नआएसम्म वार्ता नगर्न आफ्नो वार्ता टोलीलाई निर्देशन दिएका हुन्।
अध्यक्ष थापाको उक्त निर्देशनपछि पुनः एकिकृत भएर जुर्मुराउने प्रयत्न गरिरहेको परम्परागत शक्ति तत्कालका लागि खुम्चिन पुग्यो। एकता वार्ताका लागि पूर्वराजाले वातावरण बनाइदिए पनि कहीँ न कहीँ नेताहरुकै कारण पनि यो एकता भाँडिन पुगेको छ।
एकता भाँडिनुको कारण
नेपालमा राजसंस्था पुन:स्थापनाको आवाज उठाइरहने एकमात्र राजनीतिक शक्ति हो राष्ट्रिय प्रजातन्त्र पार्टी र त्यसबाट विभाजन भएर बनेका घटकहरु। तर, पछिल्लो समय टुटफुटको संघारबाट गुज्रिँनु र अपेक्षाकृत जनमत प्राप्त गर्न नसक्नुले नेपालको यो परम्परागत शक्ति पतनको मार्गमा हिँडेको राजनीतिक वृत्तमा चर्चा छ।
एकथरी पूर्वपञ्चहरूले पूर्वराजा ज्ञानेन्द्रबाटै आफूहरू उपेक्षित भएको मात्र होइन पूर्वराजाले आफूूलाई संकटमा पारेको समेत आरोप लगाएका छन्। ‘राजा आउँ देश बचाउ’ भन्नेहरुले पनि यो प्रतिनिधिसभा निर्वाचनमा आफुहरुलाई मत नदिएको उनीहरुको तर्क छ। हुनै लागेको पछिल्लो एकता पनि भाँडिनुको मुख्य कारण राजतन्त्र पुन:स्थापना र हिन्दुराष्ट्रको मुद्धा नै भएको उनीहरुको ठहर छ। राप्रपाका घटकहरुलाई एकता गराउन प्रयत्नशिल देखिएका पूर्वराजामा पनि स्वार्थ लुकेको छ राजसंस्था पुन:स्थापनाको।
तर, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातन्त्रिकले यो मुद्धा अवलम्बन गरेर अगाडि चाहँदैन। पहिले राप्रपा वृत्तमा आफुलाई कट्टर राजावादीको रुपमा प्रस्तुत गर्ने राप्रपा नेताहरु रामकुमार सुब्बा, रेशम लामा, कमला शर्मा, सइन्द्र बान्तवा, बबिना लावती लगायतका नेताहरु नै अहिले राजा पुन:स्थापना र हिन्दुराष्ट्रको मुद्धा छाडेर राप्रपा प्रजातान्त्रिकमा सामेल भएका छन्।
आफुलाई कट्टर राजावादी भन्नेहरुको सहयोगमै पशुपतिशमशेरले आफूनेतृत्वको राप्रपा फुटाएको आरोप लगाउँदै आएका छन् राप्रपा नेपालका अध्यक्ष कमल थपा। भने, पशुपतिशमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिक सुरुवातदेखि नै राजसंस्था पुन:स्थापना र हिन्दुराष्ट्रको मुद्धामा सकारात्मक छैन। हुनै लागेको एकता भाँडिनुको मुख्य कारण पनि यही हो।
मरेको छैन आशा
अहिले जुन आस्थामा भएपनि परम्परावादी घटकहरु एक भएमा राप्रपा फेरि माथि उठ्ने विश्वास गर्छन् नेताहरु। राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी आफूुले अवलम्बन गरेको हिन्दुराष्ट्र र राजसंस्था पुनस्थापनाकै मुद्दाले परम्परागत शक्ति एकदिन माथि उठ्ने विश्वास गर्छन्।
लोहनीले भन्छन्, ‘आज नहोला, भोलि नहोला तर, पर्सी हामी हाम्रा मुद्धा स्थापित गराएर माथि जान्छौं।’ उनका अनुसार सिद्धान्त मिल्ने जो कोहीसँग पनि मिलेर अगाडि बढ्ने राप्रपा राष्ट्रवादीको धारणा छ।
दुई राप्रपामात्रै नभएर प्रजातन्त्रमा विश्वास गर्ने सबै शक्ति एक ठाउँमा उभिनु पर्ने बताउँछन् सूर्यबहादुर थापाका छोरा तथा राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनीलबहादुर थापा पनि। थापाका अनुसार वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रको एकताले प्रजातन्त्रवादीहरू एक ठाउँमा हुनु पर्छ भन्ने सन्देश पनि दिएको छ ।
‘बुवा स्वर्गीय सूर्यबहादुर थापाले भनेको कुरामा हामी आइपुग्यौं। उहाँले अब नेपालमा सबै लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्छ भन्ने कुराको जुन अवधारणा ल्याउनु भएको थियो, त्यसलाई वाम एकताले सान्दर्भिक बनायो’ उनी भन्छन्,‘राप्रपासँग सैद्धान्तिक आधारमा मिल्ने अरु पार्टी, समूह, व्यक्ति मिल्न सकिन्छ’
राप्रपाका सहप्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ पनि विभाजित सबैघटक एक भएर जानुको विकल्प नभएको बताउँछन्। उनी भन्छन्, ‘नेपालमा परम्परागत शक्तिको जनमत पछिल्लो निर्वाचनले देखाएको जस्तो छैन, पहिलेको जनमत पुनः फिर्ता ल्याउन राप्रपाका सबै घटक एक हुनुपर्छ।’