राष्ट्रिय प्रजातन्त्र पार्टी जन्मिने दिन २०४७ जेठ १५ गते एउटा रोचक घटना भयो। पार्टी गठनका लागि राजेश्वर देवकोटाले विधान र मार्गनिर्देशक सिद्धान्त लेखिसकेर त्यसको एक प्रति सूर्यबहादुर थापालाई दिए। तर, पार्टी दर्ता नहुँदै नेतृत्वमा विवाद सुरु भयो।
देवकोटाले दिएको एक प्रति विधान र मार्गनिर्देशक लिएर थापा निर्वाचन आयोग गए र राप्रपा (थापा) नाममा आफ्नो छुट्टै दल दर्ता गरे। सोहीदिन लोकेन्द्रबहादुर चन्दले पनि त्यही विधान र मार्गनिर्देशकको अर्को प्रति बुझाएर राप्रपा (चन्द) नामक अर्को छुट्टै दल दर्ता गरे। यसरी गठनहुनु अगावै राप्रपा विभाजन हुन पुग्यो। कारण थियो, ‘नेतृत्व कसले गर्ने ?’
२०४६ को जनआन्दोलनपछि खासगरी समाज प्रजातान्त्रिक शक्ति र पूर्वपञ्चहरूको परम्परागत शक्ति गरी दुई भागमा विभाजित भयो। बहुदल स्थापनापछि कांग्रेस र एमालेजस्ता दलहरूले पहिलो शक्तिको रूपमा राजनीतिक अभ्यास गरे भने राजदरबार र राजाको आडमा पूर्वपञ्चहरू एकत्रित भएर परम्परागत शक्तिलाई नयाँ ढंगले अगाडि बढाउनतर्फ लागे। र, धेरै विमर्शपछि उनीहरुले राजनीतिक दल स्थापना गर्ने सोच बनाएका थिए ।
पञ्चायतकालमा प्रधानमन्त्री भइसकेका नेताहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दका साथै पञ्चायतकालिन मन्त्रीहरू प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरा, कमल थापा, बुद्धीमान तामाङ, पद्मसुन्दर लावती, रविन्द्रनाथ शर्मा, राजेश्वर देवकोटालगायतका हस्तिहरु परम्परागत शक्ति ब्युुँताउने खेलमा संलग्न थिए। र, नेतृत्व पनि सबै आफैं लिन चाहन्थे। यहीकारण पहिलो दिनमै परम्परागत शक्ति दुुई खेमामा विभाजित भयो।
सूर्यबहादुर थापा तिनै व्यक्ति थिए जो पञ्चायत शासनमा पहिलो प्रधानमन्त्री भएका थिए। यसका साथै उनी राजनीतिक दाउपेचका अब्बल खेलाडी मानिन्थे। सोहीकारण थापा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र गरी तीनवटै राजाको शासनकालमा प्रधानमन्त्री हुन सफल भए।
त्यस्तै लोकेन्द्रबहादुर चन्द पनि आफ्नो शासनकालमा राजनीतिक दाउपेचको खेलमा थापाभन्दा कम मानिदैनथे। सोही क्षमताका कारण उनी ४ पटकसम्म नेपालको प्रधानमन्त्री बन्न सफल भए। पहिलो र दोस्रोपटक प्रधानमन्त्री बन्दा चन्द कुनै पनि राजनीतिक दलसँग आबद्ध थिएनन्। बहुदल स्थापनापछि २०४८ सालमा भएको पहिलो निर्वाचनमा यी दुवै राप्रपाले भाग लिए। तर, नतिजा सुखद भएन। देशभरका २०५ निर्वाचन क्षेत्रमा चन्द पक्षले तीन र थापा पक्षले एक सिटमात्रै जित्यो।
राप्रपा (चन्द) बाट पशुपतिशम्शेर राणा (सिन्धुपाल्चोक), प्रकाशचन्द्र लोहनी (नुवाकोट) र रामकृष्ण आचार्य (रसुवा) निर्वाचित भएका थिए भने दार्चुलाका अकबरबहादुर सिंह राप्रपा (थापा)बाट जित्ने एकमात्र नेता बने। बहुदल स्थापनापछि पनि शक्तिलाई निरन्तरता दिने उद्देश्यले प्रत्यक्ष राजनीतिमा आएका पूर्वपञ्चले पहिलो निर्वाचनमा नै नराम्रो हार व्यहोरे। त्यसबाट पाठ सिक्दै पार्टी एकता गरेर अगाडि बढ्ने रणनीति अवलम्बन गरे। फलस्वरुप उनीहरुले दुई पार्टी स्थापनाको दुई वर्षपछि अर्थात् ०४९ सालमा दुई राप्रपालाई एक बनाए। एकीकृत पार्टीको अध्यक्ष भए सूर्यबहादुर थापा।
त्यो बेला नेपालमा सबै राजनीतिक दल आन्तरिक झमेलामा फसेका थिए। बहुदल ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाली कांग्रेस पनि त्यसमा अपवाद हुन सकेको थिएन। केही समयमै कांग्रेसभित्रको विवादले चरमरुप लिन पुग्यो जसको फाइदा राप्रपाले पनि लियो। ०५१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद भंग गर्दै मध्यावधि निर्वाचन गराउने निर्णय गरे। दुई राप्रपा एक भएकै कारण मध्यावधि निर्वाचनबाट यो परम्परागत शक्ति अपेक्षा गरिएभन्दा बलियो बन्न पुग्यो। त्यस निर्वाचनमा देशभरबाट २० सिट जित्दै राप्रपा संसदमा तेस्रो शक्तिको रूपमा उदायो।
मध्यावधि निर्वाचनमा कुनै पार्टीले बहुमत नल्याएपछि नेकपा एमालेले मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन गर्याे । उक्त सरकारलाई नौ महिनामा लडाउने खेलमा राप्रपा पनि सहभागी भयो। फलस्वरुप २०५२ सालमा राप्रपाकै सहयोगमा कांग्रेस नेता शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री बने।
केही महिनापछि देउवा सरकार ढाल्न एमाले जुट्यो । जसलाई पूर्णरुपमा राप्रपाभित्रको एक पक्षले सहयोग गर्याे । देउवा सरकार ढाल्न एमालेलाई सहयोग गरेको थियो लोकेन्द्रबहादुर चन्द पक्षले। एमाले तर्फबाट प्रधानमन्त्री बन्न पाउने आश्वासन पाएसँगै चन्दले देउवा सरकार ढाल्न भूमिका खेलिरहेका थिए। ०५३ फागुनमा एमालेको समर्थनमा राप्रपा–एमालेको गठबन्धनबाट चन्द प्रधानमन्त्री नियुक्त भए।
त्यसपछि आफ्नै समर्थनमा बनेको देउवा सरकार ढाल्न भूमिका खेलेको आरोप चन्द पक्षलाई लाग्यो। सोही कारण राप्रपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुग्यो। त्यो समय सूर्यबहादुर थापाले आफू पार्टी अध्यक्ष भएको फाइदा उठाउँदै कांग्रेससँग मिलेर आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्ने निष्कर्षमा पुगे।
कांग्रेसलाई आफ्नो सरकार ढालेको बदला लिनु थियो। सोहीकारण सूर्यबहादुर थापालाई सहयोग गर्दै चन्द नेतृत्वको सरकार ढाल्न प्रयत्न गर्न थाल्यो। फलस्वरुप ०५४ असोजमा आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्दै कांग्रेसको समर्थनमा सूर्यबहादुर थापा प्रधानमन्त्री नियुक्त भए। ०५४ सालमै राप्रपाले वीरगन्जमा दोस्रो केन्द्रीय महाधिवेशन सम्पन्न गर्याे । उक्त महाधिवेशनले अध्यक्षसहित २० केन्द्रीय सदस्यहरु चुनावी प्रक्रियाबाट चुन्यो। त्यो बेलासम्म देउवा नेतृत्वको कांग्रेस सरकारलाई ढाल्ने खेलसँगै सुरू भएको राप्रपाको आन्तरिक विवादलाई उत्कर्षमा पु¥याइदिएको थियो। त्यसले ०५४ सालमै विभाजनको रूप लियो।
राप्रपाभित्र नै केही नेता यस्ता थिए, जसले चन्द र थापालाई जुधाएर फाइदा आफूले लिने गरेका थिए। तिनैमध्येका एक थिए कमल थापा । थापा देउवा सरकारमा स्थानीय विकासमन्त्री थिए। आफू मन्त्री हुँदाहुँदै उनी अविश्वास प्रस्तावको पक्षमा उभिए। यसपछि बनेको चन्द सरकारमा उनले परराष्ट्र र स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाए। सरकार परिवर्तन गर्ने खेल सुरू भएपछि पक्ष परिवर्तन गर्दै आफ्नै सरकारविरूद्ध उनले सूर्यबहादुर थापालाई साथ दिए। र, आफ्नै सरकार ढाल्न भूमिका खेले।
त्यो बेला थापालाई लोकेन्द्रबहादुर चन्दले विभिन्न उपनाम दिँदै आलोचना गरे। राप्रपा वृत्तमा उक्त आलोचनाको अहिले पनि चर्चा हुने गर्छ। आफ्नै सरकार विघटन गर्न भूमिका खेलेका थापालाई लोकेन्द्रबहादुर चन्दले ’मुसा प्रवृत्तिको’ नेता भन्दै आलोचना गरेका थिए। सत्ता हत्याउने खेलले नै आन्तरिक एकता कमजोर पारेपछि राप्रपा विभाजनको संघारमा पुग्यो। ०५६ सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री भएकै बेला राप्रपा फुट्यो। लोकेन्द्रबहादुर चन्दले राप्रपा फुटाएर राप्रपा (राष्ट्रवादी) गठन गरे।
टुट–फुटको नियतिले ०५६ सालमा भएको आम निर्वाचनमा परम्परागत शक्ति नराम्ररी पछारिनु पर्याे। चन्द नेतृत्वको राप्रपा (राष्ट्रवादी)ले एक सिट पनि हासिल गर्न सकेन भने सूर्यबहादुर थापा नेतृत्वको राप्रपाले ११ सिटमा चित्त बुझायो। त्यसपछि फेरि चन्द र थापा पुरानो तिक्तता अन्य गर्दै एक हुनुपर्छ भन्ने कुरामा जोड दिन थाले। पहिलो एकीकरणको भएको ७ वर्षपछि र विभाजनको तीन वर्षपछि राप्रपा २०५६ सालमा पुनः एकीकृत भयो। तर, एउटा पक्ष पार्टी एकतामा असन्तुष्ट रह्यो। सोही असन्तुष्टलाई उत्कर्षमा पुुर्याउँदै राप्रपा नेता राजेश्वर देवकोटाले राप्रपा (राष्ट्रबादी)लाई जीवित नै राखे।
२०५८ साल जेष्ठ १९ गते नारायाणहिटि राजदरबारमा राजा वीरेन्द्रको वंश विनाश हुने गरी ‘दरबार हत्याकाण्ड’ भयो। उक्त घटनालाई हेर्ने दृष्टिकोणमा पनि राप्रपाभित्र मत विभाजन भयो।
(तत्कालिन राजा ज्ञानेन्द्र शाहको शासनकालमा राप्रपाको उतारचढाव भाग– ३ मा उल्लेख हुनेछ)
याे पनि पढ्नुस्: