तिहार भन्नेबित्तिकै म व्यक्ति स्वयंलाई चाहिँ कहिले पनि सहरको झिलिमिलीले उति तानेन। भलै कसैले, दसैं त गाउँमै रमाइलो, तिहारचाहिँ सहरमै रमाइलो भन्दा म हो भन्नुबाहेक केही नै भन्न सक्थें र ? सानो बेलामा आमा, काकी वा दिदीहरुसँग बजार घुम्दा सायद ताप्के, वा यस्तै भाँडा बनाउनेतिर 'ट्वाङ्ग ट्याङ्ग' बजेपछि त्यावर (बोल्दा यस्तै सुन्थेँ) आयो भन्ने अनुभूति हुन्थ्यो मलाई। त्यो निकै पछिसम्म। त्यावर भनेको तिहार हो र यो हाम्रो चाड हो भन्नेसँग मैले खासै बालापनमा के मेसो पाएको हुँदो हो र ?
देउसी कहिले गाउँमा खेलियो कहिले काठमाडौँमा। काठमाडौमा साथी भन्नु बालापनका मित्र, भाइ अनीष मात्रै थिए। अनि अभिषेक भाइ पनि। हामी तीन दाजुभाइ हुन्थ्यौँ। त्यहाँ बस्ने ५/६ कोठा अनि केही तल वरपर गर्थ्यौँ। जम्मा भएको पैसा बाँड्थ्यौँ अनि दिदीहरुलाई दिनलाई राख्थ्यौँ। मलाईचाहिँ तिहारको देउसी भने'सी नाङ्लो होस्, त्यसमाथि धान होस्, वरिपरि सेलरोटी होऊन्, बीचमा दीप हो'ओस् भन्ने इच्छा हुन्थ्यो। योचाहिँ गाउँमा खेल्दा हामी केटाकेटी हुँदा कसले गर्दिने र ? तर पनि ती विशेष समय थिए।
तिहारको विशेष रौनक भनेको फुपूहरु र दिदीहरु आउने दिन हुन्थ्यो। ९/१० फूपू अनि दिदीहरु जम्मा हुँदा तिहार कम्ताको गजब हुँदैन्थ्यो र ? म कहिले-कहिले चिनियाँ सानो परिवार देख्दा उनीहरुको नयाँ वर्षमा के रमाइलो हुँदो हो भनेर सोच्छु पनि। हामीलाई त ती हजुरबा, फूपू, बा, काकाहरु, दिदीहरुको बीचमा सँगै बसेर खाने, रमाइलो गर्ने जो अभ्यास बसिसकेको थ्यो। ती फूपूहरुप्रति म आज पनि नतमस्तक छु, माइतीका लागि भनेर खिर-सेल-कुराउनी बनाएर उकालो अनि ओराली गरेर २/३ घण्टा हिँडेर आउनुहुन्थ्यो। फुपूहरु बूढी भएर सकि-नसिकी पनि आउनुहुन्थ्यो, प्रेम र सद्भाव हो'ओस् पो त्यस्तो, आज सम्झँदा पनि मन धक्क फुल्छ। तिहार चेलीहरु भएर नै तिहार हुँदो रहेछ।
तिहार, दीवाली, दीपावली भारतवर्षकै संस्कृति हुन्। तर नेपालमा मानिने र हामीले मानेको चाहिँ यमपञ्चक, तिहार नै हो। गङ्गाको मैदानमा जनै पूर्णिमाको दिन दाजु र बहिनी, दिदी र भाइहरुबीच राखी बाँध्ने चलन छ, तर हाम्रोमा चाहिँ तिहारमै भाइटीकामार्फत दिदीभाइ, दाजुबहिनीबीचको सम्बन्धमा अझै श्रद्धा र सद्भावलाई सुदृढ बनाउने गरिन्छ। मलाई लाग्छ यो नेपाली संस्कृतिको अनुपम उदाहरण हो। तिहार हिन्दूहरुको मात्रै चाड होइन, यो सबै नेपालीको चाड भइसकेको छ।
काठमाडौ पढ्दाताका स्कूले लामो छुट्टी भनेको त दसैंकै मात्रै हुन्थ्यो। तिहारसम्मै छुट्टी आउला कि भन्ने आश मात्रै हुन्थ्यो। अनि दसैं र तिहारबीच स्कुल लाग्दा स्कुल नगएको खण्डमा ए यो दिन शुक्रबार रै'छ, यो दिन क्लास छैन, मंगलबार के बिदा परेछ भन्दै ५/७ दिन त छुटेछ नि यो त पढ्दा भ्याइन्छ नि भनेर मन नि थमाइन्थ्यो। काठमाडौँ जाने आज जसो परे'सी गाडी बन्द भइदिए नि हुन्थ्यो, एक दिन नै बस्न पाउँदा नि वर्षौँको तृष्णा मेटिएला जस्तै अनुभूति थियो। संयोग पनि यस्तै हुन्थ्यो, २/३ पटक भयो नै। महिनौं बसेको ठाउँमा चटक्क छाडेर काठमाडौं आइपुग्दा मस्तिष्कमा निराशाका काला बादल मडारिन्थे। अनि स्कुल जान थाले'सी बल्ल बानी पर्थ्यो।
कुनै तिहारमा यस्तै सम्झनाका शब्द लेख्नु पनि आनन्दका कुरा रहेछन्, सम्झना बटुलिएका थिए र पो शब्दका केही पोखिन पाइयो। मेरा ती फूपूहरु, दिदीहरु र चेलीहरुमा न्यानो श्रद्धा, माया सम्झना। साधुवाद।