विसं २०२९ सालतिरको कुरा हो। कृष्णप्रसाद भट्टराई, म, विपीन कोइराला, भिमबहादुर तामाङ, दुर्गा सुवेदीलगायतलाई त्यतिबेलाको शाही सरकारले नख्खु जेलमा राखेको थियो।
किसुनजीलाई एउटा छुट्टै फराकिलो कोठाको व्यवस्था थियो। किसुनजीसँगै जेल बस्दा हामीलाई पनि घरमै बसेजस्तो वातावरण थियो। त्यतिखेरको ‘ज्यास्मिन टी’ अहिले पनि सम्झन्छु। पानी तताएर ल्याएर किसुनजीले सबैलाई त्यो चिया खुवाउनु हुन्थ्यो। सबै जम्मा भएर बेलुका किसुनजीले बनाएको चिया खाँदै राजनीतिक कुरा गर्थ्याैं, एक–दुई घण्टा जति।
जेलभित्र छलफल गर्दा किसुनजीसँग कहिलेकाहीँ ठूलो विवाद हुन्थ्यो। केही समय बोलचाल नै बन्द हुन्थ्यो। कैदीलाई मारे। ज्यानमारा नाइकेहरूलाई थुन्नुपर्छ भनेर हामी लाग्यौं। तर, किसुनजीले बिरामी भाको थियो कैदी, त्यसैले केही गर्नु हुँदैन भन्नुभयो। मारिने कैदीले पेट दुखिराख्छ भनेर भन्थ्यो, बिरामी थियो भनेर भनिदिनु भयो–पुलिस बयान लिन आउँदा। त्यसपछि हाम्रो कुरा किसुनजीसँग मिलेन।
तर, पनि सिनियर नेताले भनेकाले हामी चुप लागेर बस्नुको विकल्पै भएन। त्यसपछि कैदीलाई मार्ने सबै ज्यानमाराहरू उम्किए। किसुनजी जेलमा हुँदा कम्प्रोमाइज गर्नुपर्छ भन्नुहुन्थ्यो। जेलमा बस्दा त्यहाँको सत्तासँगै मिलेर बस्नुपर्छ, झगडा गर्नुहुन्न भनेर भन्नुहुन्थ्यो।
राजनीतिमार्फत अडान राख्नुपर्छ, राजनीतिक अडानलाई कहीँ झुक्न दिनुुहुन्न तर, जेलमा बस्दा व्यवहारिक कुरामा कचकच गरेर बस्न हुँदैन भन्ने किसुनजीको भनाई हुन्थ्यो। तर, हामीचाहिँ तत्कालिक कुरा पनि किन मान्ने भन्ने हाम्रो अलिक विद्रोही स्वभाव थियो, त्यस्तै गर्थ्याैं।
भीमबहादुरले पानी पर्दा पनि छाता ओढेर फूलमा पानी हाल्थे
जेलभित्रै हामी खेती पनि गर्थ्याैं। भीमबहादुर तामाङजी खेतीमा बहुत ध्यान दिनुहुन्थ्यो। फूल लगाउँथ्यौैं। त्यसको स्याहारसुसार भीमबहादुरजीले गर्नुहुन्थ्यो। पानी आएको बेलामा पनि छाता ओढेर फूलमा पानी हाल्न जानुहुन्थ्यो, अनि हामी जिस्काउँथ्यौं। जिस्काउँदा पनि नरिसाएर भीमबहादुरजीले भन्नुहुन्थ्यो,‘तिमीहरूलाई थाहा छैन उडाउँछौं मात्रै। ढलको मलिलो पानी हुन्छ त्यही भएर हालेको हो।’
म त्यतिबेला अलिक क्रान्तिकारी जोश भएको एउटा सिपाहीजस्तो थिए। जेलभित्र रहँदा कतिपय कुरामा किसुनजीसँग मेरो कुरा मिल्दैनथ्यो। किसुनजीले एउटा कुरा भन्नुहुन्थ्यो मैले जहिले पनि फरक मत राख्थे। सरकारले जेलभित्र बीचमा पर्खाल लगाउने भन्यो। मसहितका साथीहरूले मान्नुहुँदैन भन्यौं। तर, किसुनजी त्यसमा सहमत हुनुभएन। किसुनजी सरकारसँग झगडा गर्नुहुँदैन भन्ने अड्डी कस्नुहुन्थ्यो।
अरूभन्दा मनमोहन लिबरल कम्युनिष्ट
मनमोहन अधिकारी अरूभन्दा लिबरल कम्युनिष्ट थिए। मनमोहनजीसँग जेलभित्र कहिले साम्यवाद, कहिले कम्युनिष्ट व्यवस्थाका विषयमा मेरो ठूलो बहस हुन्थ्यो। भोलि हामीलाई वीपी भेट्न आउनुहुन्छ भन्ने खबर अघिल्लो दिन नै आएको थियो।
मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ, कमल कोइराला र म गरी चार जनालाई जेलको अफिसमा भेट्नुभयो। हामी चार जनाले सल्लाह गर्यौं। वीपी छुट्नु भयो, अब उहाँ यता उता बाहिर जान हुन्न। नेपाल घुम्नुपर्छ, त्यसले एउटा माहौल बन्छ भन्ने हाम्रो निष्कर्ष थियो। त्यसपछि लोकतान्त्रिक माहोल बन्छ, जसलाई राजाले थाम्न सक्दैनन् भन्ने ठानेका थियौ।
यसैअनुसार वीपीलाई सुझाव दियौं। पछि फेरि परिस्थिति के भयो, वीपी फेरि भारत जानुभयो। यो ठीक भएन भनेर हामीले जेलमा छलफल पनि गर्याैं । तर, अब क्रान्तिको कुरा आएपछि राजाले अत्याचार गरेकै छ, राजनीति त गर्नुपर्छ भन्यौ। गहिराइमा हामीले के कति बुझ्यौं, कति बुझेनौं। क्रान्ति हुनेवाला थियो भने त ठीकै थियो। थिएन भने त क्रान्तिको नाममा झन् राजनीतिको बाटो लम्बिने कुरा त परिणामले देखायो।
मनमोहनजी कम्युनिष्ट र कांग्रेस भनेर विवादित हुनुहुन्थेन। जेलमा तत्कालीन मालेका नेता बामदेव गौतम रमाइला थिए। उनी गीतमात्रै गाएर बस्थे। गौतमको आफ्नै ताल थियो जेलमा।
(स्पेसखबर डटकमसँगकाे कुराकानीमा अाधारित)