जेल सार्ने निहुँमा ओखलढुंगाका लिला दाहाल, ठगी दाहाल, गोकर्ण कार्कीलाई नख्खुमै ल्याएर गोली हानेर मारियो। हामी नख्खु जेलमा थियौं। राति लौं..लौं.. भाग्यो.. हान्... हान्... भन्दै उनीहरूलाई गोली हानेर मारिएछ। त्यो कुरा हामीले थाहा पायौं। यो घटनापछि सुवर्ण शमशेरको वक्तव्य आयो। त्यसपछि अर्को वक्तव्य आयो सूर्यबहादुर थापाको। सूर्यबहादुरको वक्तव्य बरू अलिक आलोचनात्मक थियो त्यो बेलामा।
सुवर्णजीको वक्तव्यचाहिँ अलिक नरम थियो। म सबै खाले हिंसाका घटनालाई विरोध गर्छु भन्ने खालको आयो। यस्तो वक्तव्य आएपछि मलगायत जेलमा हुने साथीहरूलाई मन परेन। हामीले भन्यौं–सुवर्णजीको वक्तव्य यस्तो आउनु हुँदैनथ्यो। यो घटनालाई ठाडैं कडा भत्र्सना गर्नुपथ्र्यों भन्ने कुरा थियो। त्यसपछि केही दिनमा सुवर्णजीले हामी जेलमा रहेका नेताहरूलाई भान्साको खर्चवापत पैसा पठाउनु भएछ।
किसुनजीले सुवर्णजी जस्तो नेताले पठाएको खर्च लिनुपर्छ, उहाँलाई अनादर गर्नुुहुन्न भन्नु भयो। तर, हामीचाहिँ लिन हुन्न भन्ने पक्षमा रह्यौं। सुवर्णजीले पठाएको पैसा बहिष्कार गर्नुपर्छ भन्यौं। हामीले त्यसै गर्याैं पनि। सुवर्णजीले पठाएको कुनै पनि चिज हामी स्वीकार गर्दैनौं भनेर खबर पठाइदियौं। जेलभित्र यस्ता कुरा भइराख्थ्ये।
सुवर्णजीले त्यतिखेर त्यत्रो घटनाको कठोर भत्र्सना गर्नुपथ्र्यो, विरोध गर्नुपथ्र्यो। तर गर्नु भएन। एकदम सामान्यजस्तै गरी वक्तव्य निकालेपछि उहाँको लाइन हामीलाई मन परेन। सुवर्णजीको पैसा हामीलाई चाहिँदैन भन्यौं। ‘साथीहरू किन रिसाएछन्?’ पछि सुवर्णजीले केही मान्छेसँग भन्नुभएछ।
जेल सार्ने निहुँमा हत्या गरिएको घटना भयो। त्यसपछि हामी नख्खु जेलमा रहेकाहरूलाई पनि यसैगरी मार्ने भयो भनेर निकै आत्तियौं। अब पालैपालो जेलका सबैलाई मार्ने भयो, बाहिर आएर राजनीति गर्न नपाइने भयो, मरिने भइयो भनेर खुब डराउँथ्यौं।
हामीले योजना बनायौं, सीपी मैनालीहरू सुरूङ खनेर भागे
विसं २०३०-३१ सालतिरको कुरा हो। बाहिर साथीहरू धमाधम मारिन थाले। अब वीपी कहाँ जाने बन्दुक, हातहतियार दिएर साथीहरूलाई पठाउने। त्यहाँ जासुसहरू पनि को–को हुन् थाहा नहुने, सबैलाई मिलाएर मारिदिने। यस्ता घटना बढ्दै गए। नोक्सानी हुँदै जान थाल्यो। त्यो थाहा पाएपछि हामीलाई चिन्ता लाग्यो।
वीपीका सहयोगी गतिला भएनन् कि भन्ने लाग्यो। जेल कति वर्ष बस्नुपर्ने हो। कुनै ठेगान थिएन। कति बस्ने भन्ने सोचेर हामीले एकपटक जेल तोड्ने सल्लाह गर्याैं। जेलभित्र त्यतिबेलै गुण्डा, डकैती गर्नेहरू पनि थिए। वीरगञ्जका एक साथीको उनीहरूसँग राम्रो सम्बन्ध थियो जेलभित्रै। ती गुण्डाहरूलाई हात लिएर सुरूङ खनेर भाग्नुपर्छ, अब बस्नु हुँदैन भन्ने निष्कर्षमा पुग्यौं।
कोठाबाट सुरूङ खन्दा नख्खु खोलामा जान्थ्यो भन्ने केही जानकारी हामीलाई थियो। पछि हामीले खबर पठायौं वीपीलाई। तर, वीपीले अहिले त्यस्तो नगर, अब केही हुँदैन भन्ने खबर पठाउनु भयो। वीपीले नयाँ लाइन लिने कुरा रै’छ त्यतिबेला। नेपाल आफैं आउने सोचमा वीपी हुनुहुँदो रैछ। त्यसपछि हामीलाई सांकेतिक रूपमा त्यो लाइन आयो। अनि हामीले सुरूङ खनेर भाग्ने कुरा छोड्यौं। तर, पछि हामीले जहाँबाट सुरूङ खन्ने योजना बनाएका थियौं, त्यही ठाउँबाट सुरूङ खनेर भागेछन् सीपी मैनालीहरू।
-पाैडेलसँग गरिएकाे कुराकानीमा अाधारित