बरु मलाई दीपुदाइ भन्न नजानेर लिपुदाइ भन्ने सानो 'भूकम्पे' भाइ स्कुल जान थालिसकेछ, प्रगति देखियो । तर यो लिपुलेक-लिम्पियाधुरा बारे यति धेरै बोलियो, लेखियो, सधैं सतहमा आउँदै, हराउँदै मात्रै गयो, प्रगति शून्य छ ! लिपुलेक-लिम्पियाधुरा मुद्दाको पछिल्लो ४ वर्षे यात्रामा मैले देखेको एउटा ठूलो लहर भनेको चाहिँ नेपालीको पश्चिमी सिमाना चाहिँ काली नदीको उद्गमस्थल लिम्पियाधुरा नै हो भन्ने बुझेका धेरै भेटियो । मलाई ती दिनमा मैले पत्रिकामार्फत, आलेखहरुमार्फत मैले बुझेको लिम्पियाधुराबारे मसँग जिज्ञासा राख्नेलाई सुनाउँथे ।
पूर्वमा झिन्साङ्ग चुली र पश्चिममा लिम्पियाधुरा नै नेपाल, भारत र चीनबीचको त्रिदेशीय विन्दु हो । लिम्पियाधुरा मुद्दालाई भारतविरोधी मुद्दा बनाउनु आवश्यक नै छैन, यो हाम्रो माटो हो, सोझै हाम्रो हक लाग्छ । यस विषयलाई लिएर हामीले दुई देशका नागरिकबीचका सम्बन्धमा असर पार्नु हुँदैन, यो विशुद्ध राष्ट्रिय मुद्दा हो । तर राष्ट्रियताको विषयमा नि पक्ष र विपक्ष भनेर बहस गर्ने 'बौद्धिक' बस्ने देश पो मेरो ! यिनका घैँटामा घाम कहिले लाग्ने ? देशको सिमानाबारे पनि पक्ष र विपक्षका कुरा आउनु आवश्यक छ र ? अझै तथ्यहिन कुरामा आफ्नो मूढ तर्क राखेर सामाजिक सञ्जालमा लेख्नेहरुलाई के भन्नू ?
सुगौली सन्धिपश्चात् पूर्वमा मेची र पश्चिममा महाकालीमा नेपाललाई खुम्च्याइएकै आधारमा पनि नेपालको पश्चिमी सीमाचाहिँ लिम्पियाधुरा नै हुन पुग्छ। अहिले भारतले मात्रै यो नक्साको गलत प्रयोग भने पहिलोपटक गरेको होइन । यीभन्दा अगाडि हाम्रै नागरिकले गलत नक्सा प्रयोग गर्दै आएका छन् ।
देश भनेको जनता-जनार्दन पनि हुन् र भूगोल पनि । छिमेकीहरुले १ इन्च भू-भाग त सितिमिति छाड्दैनन् भने नेपाल उदारवादी हुनु जरुरी नै छैन । आई कटक नगर्नु झिकी कटक गर्नु भन्ने बुढा महराज पृथ्वीनारायण शाहका अर्ती मान्नु अति उपयोगी देखिन्छ । अहिले भारतले यो मुद्दालाई छोइँदिदा ओझेलमा पर्ने गरेको मुद्दा एकपटक राष्ट्रिय स्तरमा उठेको छ । लहरो तान्दा पहरो नि गर्जियो । आवश्यक छ असल र दृढतापूर्वक उभिने कूटनीतिक शैलीहरुको !