सहिद गेटमा प्रयोग गरिएका सिङ्गमरमर (मार्बल) राणाको बैठक कोठाबाट उप्काएर ल्याइएका हुन् ।
इन्जिनियरद्वारा तयार गरिएको सुरु नक्सामा सहिद गेटमा मार्बलबारे उल्लेख थिएन । निर्माण गर्दै जाँदा इन्जिनियरहरूले “फिनिसिङ राम्रो गर्नुपर्यो, आकर्षक देखाउन मार्बल टाँस्नुपर्ने भयो” भनेपछि तत्कालीन राजा महेन्द्रले “हुन्छ” भन्नुभयो र सिङ्गमरमर टाँस्ने योजना बन्यो ।
तत्कालै मार्बल ल्याउनुपर्ने भयो । बजेट पनि कमै थियो । सस्तो मार्बल खोज्ने क्रममा कुनै राणाजीको दरबारको बैठक कक्षमा रहेको मार्बल उपलब्ध हुनसक्यो र प्रयोग भइसकेका तिनै पुराना मार्बल ल्याई टाँसियो ।
“सस्तो मार्बल खोज्दै थियौँ । ब्रोकरले सस्तोमा मार्बल उपलब्ध गराइदिने भने । हामीले हुन्छ भन्यौँ” सहिद गेटका डिजाइनर (इन्जिनियर) शंकरनाथ रिमालले त्यस बखतको घटना स्मरण गरे, “ती ब्रोकरले राणाको दरबारबाट उप्काएर ल्याइएको हो भने । हामीले पनि कुन राणाको हो भनेर सोधीखोजी गरेनौँ ।”
तिनताका काठमाडौँको जग्गाको भाउ खासै थिएन । सरकारले सम्पत्तिमा ३ प्रतिशत कर लगाइदिएको थियो । करका कारण कतिपय राणालाई जीविकोपार्जन गर्न समस्या पर्दै गएको पनि थियो । “करले राणाजीहरूलाई आर्थिक समस्या पर्न थाल्यो । जग्गाको खासै भाउ थिएन । त्यसैले उनीहरूले बैठकका मार्बल, फर्निचर आदि बेच्न थाले” उनले थपे, “उनीहरूले सस्तोमा मार्बल बिक्री गर्दा त्यसले काम दियो ।” सो मार्बल ललितपुरको गोदावरीमा उत्पादन भएको गोरखापत्र दैनिकले खबर छापेको छ ।
सानो टुँडिखेल (हालको दशरथ रंगशाला) मा आयोजना भइरहेको प्रदर्शनीमा तत्कालीन राजा महेन्द्रसँग परिचय भएपछि त्यसबखत २४ वर्षका इन्जिनियर शंकरनाथलाई राजा महेन्द्रले ‘म दरबारमा बोलाउँला’ भने । एक दिन त बोलावट आइहाल्यो । २ नम्बर बंगलाको माथि पाल टाँगिएको थियो । सुरक्षागार्डले छाता ओढाएर तत्कालीन राजा महेन्द्र सामु उनलाई लिएर गए । उनले त्यस दिनको यसरी स्मरण गरे, “राजा महेन्द्रले ‘फलानो ठाउँमा नेपाल स्मारक बनाऊ, २५ हजार रुपैयाँ दिउँला । त्यतिमा पुग्ने गरी नक्सा तयार गर’ भनेपछि मैले त्यहीअनुसारको सानो आकारको द्वारको डिजाइन गरे ।” उनले ९ डिजाइन तयार गरेकामा हाल रहेको सहिद गेटको नक्सालाई राजा महेन्द्रले उपयुक्त ठहर्याएका थिए ।
निर्माण सम्पन्न हुँदा १ लाख २५ हजार रुपैयाँ खर्च भयो । त्यो रकम दरबारले नै उपलब्ध गरायो । उनले भने, “२०१८ वैशाख १ गते सहिद गेट उद्घाटन भयो । मैले १ हजार रुपैयाँ र भाइ गौरीले २ हजार रुपियाँ बकस पायौं ।”
त्यसपछि तत्कालीन राजा महेन्द्रले २५ लाख रुपैयाँ लगानीमा डेढ हजार मानिस अट्नसक्ने हलसहितको प्रज्ञा प्रतिष्ठानको भवन बनाउन लगाए । जग्गासहित १ करोड ५ लाख रुपियाँ अनुमानित लागत लाग्ने सहितको डिजाइन पेस गरियो । “राजा कहाँ नक्सा लगेर गएँ । १ करोड रुपैयाँ दिए । ५ लाख रुपैयाँ निकासा भएन” उनले भने ।