जनप्रतिनिधिहरूले जिम्मेवारी सम्हालेपछि विराटनगर महानगरपालिका प्रविधिमैत्री बन्दै गएको छ। यससँगै महानगरपालिकाले दिँदै आएको सेवा नागरिकले सहज रुपले पाउन थालेका छन्।
महानगर प्रमुख भीम पराजुलीले विगतमा लामो समय लाइनमा बसेर सेवा लिनुपर्ने अवस्था रहेकामा प्रविधिमैत्री भएसँगै सेवा चुस्तदुरुस्त र छिटोछरितो हुुने बताए।
प्रविधिको सुधारसहित कार्यालयलाई अझै प्रभावकारी रुपमा प्रविधिमैत्री बनाउन महानगरपालिकाका १९ वटै वडामा अनलाईन सेवा विस्तार गर्न कर्मचारीलाई सुचना प्रविधिसम्बन्धी तालिमसमेत सञ्चालन गरिएको छ। विराटनगर महागरपालिका प्रदेश १ राजधानीसमेत भएकाले यहाँका प्रत्येक सरकारी कार्यालयलाई प्रविधिमैत्री बनाउनु आवश्यक रहेको पराजुलीले बताए।
जिम्मेवारी सम्हालेपछि महानगरपालिका मात्र नभएर महानगरपालिकाका सवै वडामा अनलाइनबाट सेवा सुरु गरेको उनको भनाइ थियो। महानगरपालिकालाई ग्रिन सिटि तथा स्मार्ट सिटि वनाउने अभियानमा महानगरपालिका जुटेको उनले बताए।
वडास्तरबाटै अनलाइनमार्फत् एकीकृत सम्पत्ति कर संकलनदेखि अन्य सेवा महानगरले दिइरहेकाले यसलाई अझ गुणस्तरीय र सहजरुपमा ब्यवस्थित गर्न महानगर लागिपरेको छ। सामाजिक सुरक्षा भत्ता, जग्गा तथा अन्य राजश्व सङ्कलन, पञ्जिकरणलगायत काम अनलाइनमार्फत भइरहेका छ।
स्मार्ट सिटी बनाउने तयारीमा जुटेको महानगर आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन इन्जिनियर सहित आइटी अधिकृतलाई तालिम प्रदान गरिरहेको महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिए। अबको एक वर्षमा नगरका अधिकांश भाग ंपिच भइसक्ने र नगरवासीको चाहना अनुरुपका संरचना बन्ने दावी महानगरपालिकाको छ। नगर प्रविधिमैत्री र जनअपेक्षाअनुरुपको शहर बने संगै विराटनगर समृद्ध बन्नेमा आफू आशावादी रहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ ।