समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयतालाई असफल बनाउने प्रयास भइरहेको दाबी गरेका छन् ।
प्रेस नेपाल मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सरकारले प्रेस स्वतन्त्रता हनन गर्ने गरी मिडिया काउन्सिल विधेयक सहित फोन ट्यापिङ र सेना परिचालनको बिषयका सवाल बिधेयकहरु पारित गराउने प्रयास गरेर संघीयतालाई असफल वनाउने प्रयास भइरहेको वताए ।
उनले संविधान र संघीयता कार्यान्वयनमा गंभिर भएको भनेपनि सरकारको भनाई र गराईमा फरक देखिएको उनले बताए । सरकारले सुखी नेपाली र समृद्ध नेपालको नारा लगाएपनि ब्यवहारमा सो अनुरुप काम हुन नसकेको उनको भनाई थियो । उनले आफ्नो पार्टी संबिधान संशोधनको सर्तसहित सरकारमा गएपनि नेकपा र प्रधानमन्त्री स्वयं सहमतिबाट पछि हटेका कारण आफूहरु सरकारबाट बाहिरीएको प्रष्ट पारे ।
अध्यक्ष यादवले संबिधान संशोधनगरी सर्वस्वीकार्य नबनाएसम्म मुलुक अग्रगतिमा बढ्न नसक्ने बताउँदै संशोधन नगरे जनताले सडक संघर्षको बाटो रोज्ने चेतावनी समेत दिए । संघीयता कार्यान्वयनमा सरकार गंभिर हुनुपर्नेमा जोड दिदै उनले संघले प्रदेशलाई अधिकार दिएर संघीयतालाई वलियो वनाउनेपर्ने उनको भनाई थियो ।
सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिदै पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले दुई नम्वर प्रदेशमा आफनो पार्टी सरकारवाट नवाहिरिने वताए । समाजवादी पार्टी र राजपाबीचको सहकार्य रहुन्जेलसम्म दुई नम्वर प्रदेशको सरकारबाट पार्टी नह्टने प्रष्ट पारे ।