मोरङको कटहरी गांउपालिकाले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर आर्थिकबर्ष २०७६/७७ को बजेट आज सार्वजनिक गरेको छ ।
गांउपालिकाले आज एक कार्यक्रमको आयोजनागर्दै ३४ करोड ६५ लाख १५ हजारको बजेट सार्वजनीकिकरण गरेको हो ।
कार्यक्रममा संघीय सांसद अमनलाल मोदी,प्रदेश सभा सदस्यत्रय विद्यानन्द चौधरी,बिजयकुमार विश्वास,कल्पना सरदार र गांउपालिका प्रमुख रामकुमार कामतले संयुक्तरुपमा आर्थिकबर्ष २०७६/७७ को बजेट सार्वजनीकिकरण गरे ।
सो गांउपालिकाले सार्वजनिक गरेको बजेटमा पूर्वाधार विकासलाइ पहिलो प्राथमिकतामा राख्दै १२ करोड ४४ लाख ९३ हजार बजेट विनियोजन गरेको छ । जुन कुल बजेटको ३५.९७ प्रतिसत रहेको कटहरी गांउपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशबहादुर कार्कीले जानकारी दिए ।
यसैगरि सामाजिक विकासमा कुल बजेटको ३५.२५ प्रतिसत अर्थात १२ करोड २१ लाख ६२ हजार र आर्थिक विकासमा कुल बजेटको २.७८ प्रतिसत अर्थात ९६ लाख ४५ हजार रकम विनियोजन गरिएको उहांले जानकारी दिए ।
यस्तै वातावरण तथा विपद् ब्यवस्थापनमा ६४ लाख,वित्तिय समपुरक कोषमा २ करोड र प्रशासनिक खर्चकालागि ५ करोड ५५ लाख १५ हजार रकम बिनियोजन गरिएको छ ।
सार्वजनिक गरिएको बजेटमा चालु खर्च तर्फ १५ करोड ४ लाख र पुंजीगततर्फ १९ करोड ६१ लाख राखिएको छ । बजेट सार्वजनीकिकरण कार्यक्रममा बोल्ने वक्ताहरुले समानुपातिक ढंगले बजेट बाडफांड गरिएको विचार ब्यक्त गरेका थिए । कार्यक्रममा गांउपालिका उपप्रमुख मन्जिताकुमारी सरदार सहित विभिन्न राजनितिक दलका प्रतिनिधि, गांउपालिका र वडाका सदस्य तथा कर्मचारी सहित सर्वसाधारणको सहभागीता थियो ।