धनुषामा अपरिचित नम्बरमा फोन गर्ने गरेको आशंकामा श्रीमतीको हत्या गरी फरार रहेका एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सबैला नगरपालिका जरहिया टोल बस्ने रहमत राईन रहेको प्रहरीले जनाएको छ। गएको जेठ १७ गते २५ वर्षीया श्रीमती नुर जहान खातुनको घाँटी च्यापेर हत्या गरी राईन फरार भएका थिए।
नुर जहान मृत अवस्थामा रहेको जानकारी पाउनासाथ ईलाका प्रहरी कर्यालय सबैलाबाट प्रहरी निरीक्षक चन्द्र भुषण यादवको टोलीले घटनास्थल पुग्दा उनको घाँटीमा सल बेरेको थियो। घटनाबारे प्रहरीलाई शंकास्पद लागेपछि बेरेको सल फुकाई हेर्दा घाँटीको अगाडिको भागमा कालो डाम देखिएको थियो।
नुर जहानको हत्यापछि उनको घर परिवारका सदस्यहरु फरार भएका थिए। उनीहरुलाई खोज तलास गर्दै जाँदा नुर जहाका श्रीमान राईन लुकिछिपी बसेको अवस्थामा फेला परेका हुन्।
नुरजहाले पहिलादेखि नै अपरिचित नम्बरहरुमा फोन गरेको विषयमा झै–झग्डा हुँदै आएको अनुसन्धानका क्रममा उनले बताएका छन्। यसै क्रममा जेठ १७ गते पनि अपरिचित नम्बरमा फोन गर्दै गरेकोले सोही विषयमा विवाद हुँदा श्रीमतिको घाँटीमा रहेको सलले बेरेर घाँटी कसी मारेको प्रारम्भिक सोधपुछबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए। ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले जानकारी दिए।