प्रदेश २ सरकारले जानकी मन्दिर सौन्दर्यकरणकालागि शुरु गरेको कार्यमाथि पुरातत्व विभागले रोक लगाएको छ । जानकी मन्दिरको मौलिकतामा असर पर्ने गरी पुरातत्व विभागको स्वीकृती बिना जानकी मन्दिर परिसर भित्र निर्माण कार्य भइरहेको भन्दै नेपाल सरकार, पुरातत्व विभागले आइतवारदेखि काममा रोक लगाएको हो ।
पुरातत्व विभाग, काठमाडौबाट जानकी मन्दिरको पुरातत्व सम्बन्धी फोकल पर्सनको रुपमा कार्यरत पुरातत्व अधिकृत मन्जु सिहं भण्डारीले जानकी मन्दिरको प्रांगण भित्र भइरहेको भवन निर्माणको कार्य समेत रोक्न फोनबाट जानकारी गराएको हो ।
उहाँका अनुसार उक्त कार्य रोक्न पुरातत्व विभागको औपचारिक पत्र सोमबारसम्म जानकी मन्दिर, जनकपुरधाम उप महानगरपालिका, प्रदेश २, मुख्य मन्त्री तथा मन्त्रि परिषदको कार्यालयमा पत्र समेत पुगिसक्ने छ ।
जानकी मन्दिरको परिसर सुधारको लागि प्रदेश २ को मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट मुख्य मन्त्री स्वच्छता अभियान अन्तरगत जानकी मन्दिरको कम्पाउन्ड भित्र मार्बल लगाउने योजना अगाडी बढाइएको थियो । जानकी मन्दिरको परिसर सुधार गर्न सहमति माग सम्बन्धी प्रदेश २ सरकारको पत्रको आधारमा जानकी मन्दिरसंग तादात्मयता हुने गरी तथा मन्दिरको साविकको दृष्यलाई नकारात्मक असर नपर्ने गरी विश्व सम्पदाको संभावित सुचिमा सुचिकरण गर्ने सिलसिलामा उक्त सुधार कार्यले कुनै समस्या नआउने गरी पुरातत्व विभागले २०७५।०९।२२ को पत्र अनुसार सहमति प्रदान गरेको थियो ।
तर अहिले आएर पुरातत्व विभागको स्वीकृती विपरीत जानकी मन्दिरको मौलिकता तथा संरचनालाई नै संकटमा पार्ने गरीे मन्दिर परिसर भित्र भवन निर्माण कार्यको थालनी भएको छ । जानकी मन्दिर भित्रको छत माथि ६ वटा शक्तिशालि ड्रिलको प्रयोग गरेर मन्दिरको संरचनालाई क्षति पुग्ने गरी तोडफोडको कार्य पनि भई रहेको छ ।
जानकी मन्दिर सौन्दर्यकरणको क्रममा मौलिकता संकटमा पर्ने गरी भइरहेको काम तत्काल बन्द गराउन भोर संस्थाले सोमबार पुरातत्व विभागको महानिर्देशकलाई तोडफोड कार्यको फोटोहरु सहित ज्ञापन पत्र बुझाएको छ । भोरको सहजीकरणमा संचालित जानकी मन्दिरलाई विश्व सम्पदा स्थलको रुपमा सुचिकृत गराउन अभियानले उक्त पत्र बुझाएको छ ।
उक्त पत्रको आधारमा पुरातत्व विभागको विश्व सम्पदा शाखा, पुरातत्व शाखा तथा योजना शाखा र भोरको सहभागीतामा छलफल बैठक बसेको थियो । बैठकमा पुरातत्व विभागको विश्व सम्पदा संरक्षण शाखाका प्रमुख सुरेश सरस श्रेष्ठ, पुरातत्व अधिकृत सुभद्रा भट्टराई, देवेन्द्र भटराई, योजना शाखाको पुरातत्व अधिकृत मन्जु सिंह र भोरको अध्यक्ष राज कुमार महतो सहभागी थिए ।