चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट असार मसान्तभित्रै पारित गर्नुपर्ने प्रावधान छ। तर संघीय सरकारले पटक पटक परिपत्र गरे पनि प्रदेश २ का २९ वटा स्थानीय तहले चालु वर्षको बजेट पारित गर्न सकेका छैनन् । कोष तथा लेखा नियन्त्रण कार्यालय जनकपुरका अनुसार उनीहरुले बजेटको समयसिमा उल्लंघन गरेका हुन्।
प्रदेश २ मा १ सय ३६ पालिकामध्ये १ सय ६ वटामा बजेट पेश भएको छ। १८ वटा स्थानीय तहमध्ये धनुषाको कमला र सबैला नगरपालिकाले बजेट ल्याउन सकेका छैनन। १५ वटा सथानीय तह रहेको महोत्तरीमा नगर प्रमुख र उपप्रमुखको विवादले रामगोपालपुर नगरपालिकाले बजेट ल्याउन नसकेको हो।
यस्तै, सर्लाहीको बलरा, रामनगर नगरपालिकामा बजेट पेश हुन बाँकी छ। तोकिएको समयभित्र रौतहटका ५ पालिकाले बजेट पेश गर्न सकेको छैन। रौतहटका कटहरिया, गुजरा, फतुवाबिजयपुर, बृन्दावन र बौधीमाई नगरपालिकाले बजेट ल्याउन नसकेको हो। त्यस्तै बाराको बारागढी र सुवर्ण गाउँपालिका पनि बजेट पेश नगर्नेको सूचीमा छन्।
१४ गाउँपालिका रहेको पर्सामा कालिकामाई, जगरनाथपुुर, ठोरी, धोबिनी, पकाहा मैनपुर, बिन्दबासिनी र सखुवा प्रसौनी गाउँपालिकाले पनि बजेट ल्याएका छैनन्।
१८ पालिका रहेको सप्तरीमा १२ वटाले बजेट ल्याए भने अझै ६ वटाको बाँकी रहेको लेखा नियन्त्रण कार्यालयले जनाएको छ।
सप्तरीको छिन्नमस्ता, तिरहुत, बलान विहुल, राजगढ (बेल्ही चपेना) गाउँपालिका तथा महादेवा र सप्तकोशी नगरपालिकाले अझै बजेट ल्याएका छैनन्। १७ पालिका रहेको सिराहामा ४ वटा पालिकाले बजेट ल्याउन सकेका छैनन्। तीमध्ये औरही, बरियारपट्टी र विष्णुपुर गाउँपालिका तथा कल्याणपुर नगरपालिकाले बजेट पारित गरेका छैनन्।