प्रदेश २ सरकारले संघीय सरकार विरुद्ध मुद्दा दायर गरेको छ । संघीय सरकारले आफुखुशी सागरनाथ वन परियोजना आफ्नो मातहत राखेको भन्दै आज(बिहीवार) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेको हो ।
रिटको भोलि( शुक्रबार) नै पेशी हुँदैछ। अ.प्रा.सहायक भुसंरक्षण अधिकृत बेचन महतोले दायर गरेको मुद्दामा प्रदेशका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले बहस गर्ने छन् ।
प्रदेश भित्रको राष्ट्रिय वनको संरक्षण र व्यवस्थापन प्रदेश सरकारको मातहतमा रहनुपर्नेमा संघीय सरकारले कम्पनीमा रुपान्तरण गरी आफ्नो मातहतमा राख्ने निर्णय गरेको भन्दै संविधानको अनुसूची ६ अनुसार प्रदेश मातहत रहनु पर्ने वन संघीय सरकारले संविधान विपरित मन्त्रीपरिषदबाट निर्णय गरी आफ्नो मातहतमा राख्ने निर्णय गरेकाले प्रदेश सरकार मुद्दा दायर गरेको उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले जानकारी दिए ।
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार काठमाडौंलाई विपक्षी बनाएर दायर गरिएको मुद्दामा उत्प्रेषण र परमादेशसमेत माग गरिएको राज्यमन्त्री मण्डलले बताए ।
१८ हजार हेक्टर क्षेत्रफलमा फैलिएको सागरनाथ वन परियोजना ४ महिनाअघि मन्त्रिपरिषद्बाट निर्णय गरेर प्रदेश २ को सरकारले आफ्नो मातहत ल्याएको थियो।