धनुषामा हतियारसहित बाबु र दुइ छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बटेश्वर गाउँपालिका–१ चित्रपुर बस्ने बाबु रामचन्द्र महतो, छोरा मनोज र प्रमोद रहेको प्रहरीले जनाएको छ । बिहीवार राति ‘मेड इन इन्डिया’ लेखिएको स्वचालित पेस्तोल १ थान, नलकटुवा पेस्तोल १ थान र गोली १ थानसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
बडहरी खोलामा अवैध रुपमा मापदण्डविपरीत उत्खनन् गरेको भनी स्थानीयले विरोध गर्दा हतियार देखाईं तर्साउँदै आएको भन्ने सूचना पाएपछि ईलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको ढल्केवरका प्रहरी निरीक्षक सरोज राइले जानकारी दिए ।
पक्राउ परेका मनोजकुमार महतो शिक्षक हुन् । उनी गाउँकै विद्यालयमा अध्यापन गराउँदै आएका छन् । उनी यसअघि पनि पटकपटक विभिन्न आपराधिक घटनामा पक्राउ परि छुटेका छन् ।