धनुषाको मिथिला नगरपालिका ६ ढल्केवरमा अढाई वर्षीय आर्यन साहलाई मन्त्र सिद्धिका लागि बलि दिएको खुलासा भएको छ। धाँमीझाँक्रीको काममा दखल बढाएर शक्तिशाली तान्त्रिक सिद्धीका लागि आर्यनलाई बलि दिइएको खुलेको हो।
बलि दिने साहका छिमेकी ५५ वर्षीय छिमेकी शत्रुधन महतोलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले बिहीबार सार्वजनिक गरेको छ।
मृतक बालककी आमा रेणुदेवी साह घाँस काट्न गएको बेला घरको ढोकामै खेलिरहेका बालकलाई महतोले ललाई फकाई अपहरण गरी बन्धक बनाएर राति २ बजे हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।
प्रहरीले महतोले हत्याका बेला लगाएका लुगा र प्रयोग गरिएको धारिलो हतियार समेत बरामद गरेको छ। गएको वैशाख २३ साँझ हराएका बालकलाई आफन्तले अबेर रातिसम्म खोजतलास गर्दा भेटेका थिएनन्। तर २४ गते बिहान घरनजिकैको बाँसघारीमा शव भेटिएको थियो। घरदेखि करिब ७५ मिटरपूर्वको बाँसघारीमा घाँटीको पछाडिको भाग रेटिएको अवस्थामा आर्यनको शव फेला परेको थियो।
प्रहरीले आर्यन हत्या प्रकरणमा शंकाका आधारमा करिब ५० जनालाई हिरासतमा लिएर सोधपुछ गरेर छाडेको थियो। जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी इकाइले संयुक्त अनुसन्धानका क्रममा धामी सिक्दै गरेका सत्रुधन महतोले बालक आर्यनको बली दिएको रहस्य खुलेको प्रहरी उपरीक्षक खनालले बताए।
धामी महतोले घरपरिवारका सदस्यहरु उपचार गराउन बाहिर गएको र घरमा कोही नभएको मौका छोपी बालकको बली दिएको अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा उपरीक्षक खनालले जानकारी दिए। बालक आर्यन बिरामी हुँदासमेत महतोले झारफुक गर्ने गरेका थिए। महतोको घर बालक आर्यनको घरबाट झण्डै १ सय मिटरको दूरीमा पर्दछ। बालक आर्यनको बुवा वैदेशिक रोजगारमा छन्। उनका हजुरबुवा पिताम्बर साह हलुवाइले महतोमाथि अपहरण गरी बन्धक बनाएर हत्या गरेको किटानी जाहेरीका आधारमा प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो।