मनहरी–मकवानपुरको मनहरी गाउँपालिका वडा नं ४ मा सुन्दै अचम्म लाग्ने घटना भएको छ । बारम्बर ढुंगा बर्षिने घटनाले स्थानीयबासिन्दालाई चकित पारेको छ । एकोहोरो रुपमा घरमा ढुंगा बर्षिन्छ, तर न मान्छे देखिन्छ न त जीवजन्तु वा कुनै मेसिनहरु नै ।
मनहरी गाउँपालिका वडा नं ४ तल्लो मसिनेस्थित दीपक ढकालको घरमा बैशाख १२ गतेदेखि यस्तै घटना भइरहेको छ । साँझ–बिहान उनको घर लक्षित गरी ढुंगा बर्षिरहेको छ । ढुंगाले लागेर एक बालिकालाई चोट समेत लागेको मनहरी गाउँपालिका ४ नं वडाका अध्यक्ष ध्रुव खड्काले जानकारी दिए ।
‘अदृष्य शक्तिले ढुंगा हान्छ भन्ने सुनेपछि म आफै सोमबार बिहानभर ढकालकै घर गएर बसेँ’, वडाध्यक्ष खड्काले भने–‘मेरै अगाडि मेवाको पात काटिने गरी ढुंगा बर्षियो ।’ उनले हल्लाखल्ला बिना नै ढुंगा बर्षिरहेको सुनाए ।
कतिपयले यो घटनालाई स्थानीय मानिसहरुकै बदमासी भनेर अनुमान गरेका छन् । तर, घरको परिवेश हेर्दा लुकेर ढुंगा हान्ने र भाग्ने अबस्था पनि छैन । अदृष्य शक्तिले लगातार ढुंगा बर्षाएकाले ढकाल परिवार मानसिक तनावमा रहेको वडाध्यक्ष खड्काले जानकारी दिए ।