मकवानपुर–राक्सिराङ गाउँपालिका वडा नं ७ दाराङमा बिषालु च्याउ खाएर बिरामी परेका चारजनामध्ये सबैभन्दा कम उमेरका ७ बर्षीय सोमसिंह चेपाङको पनि ज्यान गएको छ । उनीसँगै च्याउ खाएर मृत्यु हुनेको संख्या एकै घरपरिवारमा ३ पुगेको छ ।
बिशाक्त च्याउ खाएर बिरामी भएका सोमसिंसहित उनका बुवा दिपबहादुर र दाजु बर्दलाललाई गैरसरकारी संस्था लिसा हिमालय इभी र दीगो विकासका लागि एकता नेपाल नामक गैरसरकारी संस्थाले हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि चितवन लगेको थियो ।
उपचरका क्रममा केहीदिनअघि बर्दलालको मृत्यु भएको थियो भने सोमसिंहलाई चितवन मेडिकल कलेजको भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । अचेत अबस्थामा रहेका सोमसिंहको बिहिबार साँझ मृत्यु भएको लिसा हिमालय इभीका नेपाल प्रतिनिधि अन्जनप्रसाद पौडेलले बताए ।
च्याउ खाएका १३ दिनपछि ७ बर्षीय सोमसिं चेपाङको पनि मृत्यु भएको हो । बिशाक्त च्याउ सेवनपछि असार १३ गते १३ बर्षीया बुन्जीमायाँको घरमै मृत्यु भएको थियो । उनका दाजु १९ बर्षीय बर्दलाल, भाई ७ बर्षीय सोमसिं र बुवा ४८ बर्षीय दिपबहादुरलाई बिरामी अबस्थामा गाउँबाटै हेलिकप्टरमार्फत उद्धार गरी चितवनको भरतपुरस्थित अस्पतालहरुमा उपचारका लागि ल्याइएको थियो ।
‘हामीले भ्याएसम्मका उपचार ग¥यौँ’, हेलिकप्टरमार्फत उद्धार गरी उपचार गर्नका लागि सहयोग गरेको गैरसरकारी संस्था लिसा हिमालय इभीका कार्यक्रम निर्देशक अन्जनप्रसाद पौडेलले भने–‘उपचाररत तीनजनामध्ये दुईजनालाई बचाउन सकिएन ।’ बिरामीमध्ये घरमुली दिपबहादुरको स्वास्थ्य अबस्था भने उल्लेख्य सुधार आएको र केहीदिनमा नै अस्पतालले डिस्चार्ज गर्न सुझाव दिएको पौडेलले बताए ।