मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं ८ माइसीराङमा एकै घरमा एकसातामै दुईपटक चट्याङ परेको छ । एकसाताअघि चट्याङ लागेर गम्भीर घाइते भएकी दिलमाया चेपाङको घरमा सोमबार साँझ फेरि चट्याङ परेको हो ।
सोमबार साँझ परेको चट्याङबाट दिलमायाकी कान्छी छोरी ९ बर्षकी उपासजना चेपाङ र नातिनी ६ बर्षीया आस्था चेपाङ गम्भीर घाइते भएको राक्सिराङ गाउँपालिका वडा नं ८ का वडाध्यक्ष रामकृष्ण प्रजाले बताए ।
दिलमायालाई भने आइतबार मात्रै अस्पतालबाट डिस्चार्ज गरी घर लैजाने क्रममा मनहरी बजारमा राखिएको छ । सोमबार साँझ गम्भीर घाइते भएका बालिकाहरुलाई उपचारका लागि चन्दा संकलन गरेर चितवन पठाइएको वडाध्यक्ष रामकृष्णले बताए ।
‘दिलमाया घर पुग्न नभ्याउँदै फेरि उनकै घरमा चट्याङ परेर मानवीय क्षति भएको वडाध्यक्ष रामकृष्णले सुनाए । चट्याङले सताउन थालेपछि अब अब अर्थिङको व्यवस्थापनका लागि सरकारका माथिल्ला निकायहरुसँग पहल गर्ने उनले प्रतिक्रिया दिए ।