लमजुङकी मनिषा मगर (नाम परिवर्तन) एक दिन फेसबुक चलाइरहेकी थिइन् । नोटिफिकेसन बारमा केही संकेत आयो । क्लिक गरेर हेरिन् मनोज कार्की नामका व्यक्तिले रिक्वेस्ट पठाएका रहेछन् । उनले एसेप्ट गरिन । केही महिना औपचारिक हाइ, हेलो भयो । विस्तारै मनोजले मनिषालाई प्रेमको पासोमा पार्न सफल भयो । मनिषाले पनि उसलाई विश्वास गर्न थालिन् । मनोजले मनिषाको विश्वास जित्दै गयो ।
त्यही विश्वासको आडमा विस्तारै मनोजले मनिषालाई प्रयोग गर्न थाल्यो । म्यासेजमा नांगो तस्बिरको माग गर्न थाल्यो । मायाको प्रलोभन देखाउन थाल्यो । मनिषाले पनि उसलाई आँखा चिम्लेर विश्वास गर्न थालिन् । उसले जे भन्यो त्यसै गर्दै गइन् । मनोज एकदिन नेपाल आयो । त्यसले तिनै नांगो फोटोलाई देखाएर मनिषालाई ब्ल्याकमेलिङ गर्न थाल्यो । पैसा माग्न थाल्यो र शारिरीक सम्बन्धको लागि दबाव दिन थाल्यो ।
सुरुमा मनोजले मनिषासँग १५ हजार माग्यो । मनिषाले जसोतसो जुटाएर त्यति रकम दिइन् । त्यसपछि उसले २० हजारको माग ग¥यो । त्यति पैसा तत्काल दिन सक्ने हैसियतमा मनिषा थिइन् । उनले अस्वीकार गरिन् । मनोजले नांगो तस्बिर सार्वजनिक गरिदिने धम्की दियो । अनि मनिषा आत्महत्या गर्ने मनस्थितिमा पनि पुगिन् । अन्तिममा महानगरीय प्रहरी अपराध महाशाखामा साइबर अपराधको उजुरी लिएर आएकी छिन् उनी ।
महाशाखाकी प्रहरी निरीक्षक रुपा थापाले दोषीका सबै विवरण आइरहेको जानकारी दिँदै पक्राउ गर्ने प्रयास जारी रहेको बताइन् ।
यस्तै धादिङकी शोभा थापा (नाम परिवर्तन) को फेसबुक २०७५ चैत २९ गतेबाट अचानक बन्द भएपछि उनी पनि अपराध माहाशाखा उजुरी दिन आएकी थिईन् । ‘मेरो आइडीबाट अश्लिल तस्बिरहरु पोष्ट भएका रहेछन्, मलाई साथीले फोन गरेपछि थाहा पाएँ, अनि आफूले पनि खोल्न नसकेपछि प्रहरीमा निवेदन दिन आएकी हुँ,’ उनले अझै पनि आफ्नो फेसबुक आईडीबाट अश्लिल तस्बिरहरु पोष्ट भइरहेको बताईन् ।
साईबर क्राइमकै उजुरी लिई आएका नेपालगञ्जका एक युवाले भर्खरै एसइइको परीक्षा दिएर बसेकी बहिनीको फेसबुक ह्याक भएको बताए । साथीसंग पासवर्ड साटासाट गरेकी बहिनीको फेसबुक त्यसको केही दिनमै ह्याक भभएको थियो । त्यसपछि बहिनीको अनुहार जोडिएको नाङ्गा तस्बिरहरु पोष्ट हुन थाले ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसको दुरुपयोग पनि तीब्र भएको छ । महानगरीय अपराध महाशाखाका अनुसार आर्थिक वर्ष २०७४/७५ मा साइबर क्राइमसम्बन्धी उजुरी १४८२ वटा परेका छन् । यहाँ दैनिक २० वटासम्म यस्ता उजुरी पर्ने गरेका छन् ।
८० प्रतिशत साइबर अपराध फेसबुकमार्फत् भएको प्रहरीको भनाइ छ । तीमध्ये १३ देखि ४० वर्ष उमेरका मानिसहरु पीडित छन् । धेरै अपराध अश्लिल तस्बिर सार्वजनिक र पैसा ठगी प्रकरणसँग सम्बन्धित रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका एक अधिकारी अनुसार बिवाहित र ब्रेकअप भएका युवतीका उजुरी बढी आएका छन् । विशेषगरी श्रीमान विदेशमा भएका महिलाहरुलाई प्रेममा फसाई शारीरिक सम्बन्धको भिडियो बनाई त्यसैको सहायताले पैसा माग्ने र फोटो तथा भिडियो सार्वजनिकको धम्की बढी आउने गरेको प्रहरीको भनाइ छ ।
साथीको फेसबकुको पासवर्ड लिएर दुरुपयोग गर्ने, बिवाहित महिला तथा पुरुषको दोस्रो सम्बन्ध सार्वजनिक गर्नेजस्ता उजुरी लिएर युवायुवती आउने गरेका छन् । एक–अर्काको चरित्र हत्या गर्ने नियतले अश्लिल तस्बिर तथा भिडियो सार्र्वजनिक गर्नेदेखि विभिन्न दवाब सिर्जना गरी पैसा र शारीरिक सम्बन्धको माग गर्ने गुनासो आउने गरेको महाशाखाका अधिकारीहरुले भनाइ छ ।
महाशाखाका अधिकारीहरुका अनुसार फेसबुक, भाईबर, ईमो र ह्वाट्स एपबाट ठग्ने सञ्जाल धेरै छन् । विशेषगरी नाईजेरिया र भारतका नागरिकहरुले नेपालमा यस्ता अपराध सञ्चालन गरिरहेका छन् । यसरी ठगी गर्ने व्यक्तिले ट्राभल एजेन्सीको प्याकेज देखाई पैसा लुटेको भन्दै उजुरीहरु गर्ने गरेको छ । नेपालका ९० प्रतिशत ईमेलहरु सुुरक्षित नरहेको माहाशाखाले जनाएको छ ।
‘हामी जहाँ जान्छौं, त्यहाँको विवरण, तस्बिर फेसबुक तथा इन्स्टाग्राममा पोष्ट गर्न हतार गर्छौं, यस्तै विवरणले अपराधीलाई अपराध गर्न प्रोत्साहन दिई रहेको हुन्छ,’ महाशाखाका एक अधिकारी भन्छन् ।
के हो साइबर अपराध ?
कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराध साइबर अपराध हुन् । यसमा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेटसँग सम्बन्धित आपराधिक गतिविधिहरु पर्छन् । नेपालको विद्युतीय कारोबार ऐन– २०६३ ले ‘कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गर्नेलगायतका कामलाई विद्युतीय कसुर” भनी परिभाषा गरेको छ ।
इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट धोकाधडी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याउने क्षति लगायत अवैधानिक कार्यलाई पनि साइबर अपराध मानिन्छ ।