राजधानीको उखरमाउलो गर्मी । सबै आ–आफ्नै सुरमा । कोही व्यापार गर्दै छन्, कोही सामानको मोलतोल गर्नमै व्यस्त छन् । दिउँसो घरबाहिर निस्कने जमात घटेको छ । निस्किहाले पनि केही बेर सुस्ताउने मेलोको खोजी । यहीं गर्मीको मध्यदिन रत्नपार्क पुग्दा यहाँको दृष्य भने फरक देख्न सकिन्थ्यो । शीतलजन्य वस्तुको किनबेच पनि खुबै भइरहेको थियो । कोही काँक्रा, तरबुजा खाँदै थिए, कोही बदमको स्वादमा रत्नपार्कभित्रको छहारीमा सुस्ताइरहेका थिए ।
विभिन्न जिल्लाबाट काठमाडौं आएका त्यसमध्ये रत्नपार्क आसपास पुगेकाहरू रत्नपार्कमा शीतलको खोजीमा रहेको देख्न सकिन्थ्यो । पहिले जस्तो छैन रत्नपार्क । अहिले काठमाडौं महानगरपालिकाको प्रत्यक्ष रेखदेखमा संरक्षण थालिएको छ । महानगरपालिकाले पछिल्लो समय रत्नपार्कको व्यवस्थापनलाई समेत चुस्त बनाएर यहाँ आउनेहरूका लागि सुविधा थप्ने प्रयत्नमा लागेको देख्न सकिन्छ ।
चर्को गर्मीमा एकैछिन सुस्ताउँ भन्नेहरूको रत्नपार्कमा सानोतिनो मेलाकै जमघटजस्तो हुने गरेको छ । यही शीतल छहारीमा भक्तपुरका ७९ वर्षीय मानकाजी श्रेष्ठ पनि सुस्ताइरहेका थिए । ‘उखरमाउलो गर्मी सहन नसकेर यहाँ सुस्ताउन आएँ,’ उनले सुनाए । काम विशेषले भक्तपुरबाट काठमाडौं आएका श्रेष्ठ अहिलेको रत्नपार्कको अवस्था देखेर दंग पनि छन् । उनले पहिलेको तुलनामा रत्नपार्कको अवस्था फेरिएको सुनाए । पहिले उनी घरबाट रत्नपार्कसम्म आउँदा एक मोहर तिर्ने गर्थे । ‘यो २०१६ तिरको कुरा हो,’ उनले सुनाए, ‘अहिले समय फेरिएको छ ।’ त्यही एकमोहरको गाडीभाडा अहिले बढेर २५ रुपैयाँ भएको उनले सुनाए । ‘महँगो भयो बाबु कहिलेकाहीं यतातिर आएको मौका मिले यहाँ पनि छिर्छु,’ उनले सुनाए ।
पहिलेको तुलनामा गर्मी बढेको पनि उनको अनुभव रहेछ । ‘अहिले बढिरहेको गर्मीले त हिँड्दा–हिँड्दै लडाउला जस्तो लाग्छ,’ उनी भन्छन् । त्यसबेला शान्त रत्नपार्क अहिले कोलाहलपूर्ण बनेको उनको अनुभव छ । ‘ऊ बेला रत्नपार्क वरपर खासै बस्ती थिएन, यहाँ वरपर काठका किल्ला र तारले बाँधेका थिए,’ उनले स्मरण गरे, ‘वरपर पानी बगिरहने साना–साना कुलाहरू थिए । त्यसबेला पनि मानिसहरू शीतलमा बस्नकै लागि पनि रत्नपार्कमा आउने गर्थे ।’
यस्ता रमणीय पार्क विभिन्न ठाउँहरूमा खोलिनुपर्ने उनको सुझाव छ ।
यस्तै पार्कमै भेटिएका मनीष राना चेपाङ पनि सुस्ताउनकै लागि पार्कमा छिरे । ‘गर्मीको पीडा र बाहिरी प्रदूषणबाट जोगिन रत्नपार्क गज्जबको गन्तव्य माने हुन्छ,’ उनले सुनाए, ‘रत्नपार्कले साथीभाइको भेट पनि सहज बनाएको छ ।’
उनले रत्नपार्कलाई थप व्यवस्थित बनाउनुपर्ने बताए । ‘पार्कभित्रै खाजा खाने पसलहरू भए सहज हुने थियो,’ उनले भने । पार्क एकाइ प्रमुख हरिशशरण केसी भने चाँडै थप सुविधासहित क्यान्टिन सञ्चालनको तयारी भइरहेको सुनाउँछन् । उनका अनुसार पार्क अवलोकन गर्न जाडो मौसमको तुलनामा गर्मीमा धेरै सर्वसाधारण आउने गर्छन् । ‘दैनिकी पार्क अवलोकनका लागि औसतमा १२ सय सर्वसाधारण आउँछन्,’ केसीले भने, ‘प्रवेशका लागि २५ देखि ७५ रुपैयाँ शुल्क लिने गरेका छौं, फिल्म सुटिङका लागि ५ देखि १० हजार रुपैयाँसम्म लिने गरेका छौं । तर, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्ति (अपांगता) लाई भने निःशुल्क प्रवेशको व्यवस्था मिलाएका छौं ।’
आर्थिक वर्ष ०७५/७६ मा ९१ लाख ९७ हजार ६ सय ८९ रुपैयाँ ५४ पैसा संकलन भएको उनले जानकारी दिए । उनले भने, ‘पार्क सफा र मैत्री राख्न हाम्रो प्रमुख कार्य भए पनि यसलाई अझ व्यवस्थित रूपमा सञ्चालन गर्न यहाँ आउनेको सहयोग र भूमिका उत्तिकै महत्वपूर्ण मानिन्छ । केसीका अनुसार पार्कमा आउनेका लागि निःशुल्क वाईफाईको व्यवस्थासमेत मिलाइएको छ । यस्तै पार्कमा अवलोकनकर्ताको सुविधाका लागि मोबाइल चार्ज गर्ने बोर्डहरू पनि राखिएको उनको भनाइ छ ।