फेसबुकबाट एक युवतीलाई प्रेममा फसाई नांगा तस्बिर सार्वजनिक गर्न धम्की दिँदै पैसा असुल गरेको अभियोगमा एकजनालाई प्रहरीको अपराध महाशाखा टेकुले पक्राउ गरेको छ ।
बझाङ्गका ३० वर्षीय सूर्यबहादुर थापालाई कीर्तिपुर नयाँबजारबाट ८ वैशाखमा पक्राउ गरिएको हो । थापाविरुद्ध पवित्रा केसी(नाम परिवर्तन) ले उजुरी दिएपछि पक्राउ गरिएको हो । पहिला आफू प्रेम सम्बन्धमा रहँदा पठाएको तस्बिर सार्वजनिक गर्ने धम्की दिँदै थापाले पैसा माग गर्न थालेपछि आफूले उजुरी दिएको पीडित केसीले बताइन् ।
थापाले पहिले प्रेम सम्बन्ध रहँदा युवतीसँग अश्लिल तस्बिर माग्ने गरेको र पछि सम्बन्ध बिग्रिएपछि त्यसैको आडमा पैसा मागेको बयान दिएका छन् । २० हजार माग गरे पनि आफूले ५ हजारमात्र युवतीबाट लिएको थापाको भनाइ छ । थापाले फेसबुक तथा ईमोबाट कुरा गर्ने गरेको र तिनैबाट फोटो पठाउन लगाएको बताएका छन् ।
थापाले केसीलाई बिवाह प्रस्तावसमेत राखेको बताइएको छ । पछि उनले पवित्रासँग टाढिन आफू पहिलादेखि नै विवाहित रहेको बताए र पवित्राले पनि थापालाई ब्लक गरिन् । त्यसको केही समयपछि थापाले बिकेश थापाको नामबाट नक्कली आइडी बनाई मनिषासंग अश्लिल शब्दमा गालीगलौज गर्दै पैसा माग गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले थापालाई अदालतबाट १४ दिनको म्याद थप गराई थप अनुसन्धानका लागि मोेबाईल डिजिटल फरेन्सिक ल्याब पठाएको छ । महाशाखाका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले भने, ‘विद्युतीय कारोवार ऐन २०५९ को दफा ४७ अनुसारको मुद्दा लगिएको छ । प्रमाणित भए दोषीलाई ५ वर्षसम्म कैद, १ लाखसम्म जरिवाना अथवा दुबै कारवाहीसमेत हुनेछ ।’