३ सातासम्म आन्दोलन गर्दा पनि सरकारले माग सुनुवाई नगरेको भन्दै नर्सहरु आजदेखि आमरण अनसनमा बसेका छन् । आफ्ना माग राख्दा पनि पेशागत संस्था नर्सिङ संघले नै प्रहरी लगाएर धरपकड गरेको भन्दै उनीहरुले आक्रोश पनि व्यक्त गरेका छन् ।
‘१८ दिनसम्म आन्दोलन गर्दा पनि माग पूरा गरिएन, उल्टै प्रहरी लगाएर धरपकड गराइयो,’ नर्सको हकहितमा पक्षमा वकालत गर्दै आएकी जिता बरालले भनिन्, ‘नर्सहरुको मनोबल घटिरहेको छ, अब के गर्ने भन्ने मनस्थितिमा छन्, यस्तो अवस्थामा हामीहरुको अदालत भनेकै नर्सिङ संघ हो, हामी अनसन गर्छौं ।’
मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरु कर्मचारीलाई समयमै तलब दिनुपर्ने, केन्द्रमा कार्यरत सबै कर्मचारीले सरकारी सेवा सुविधा पाउनुपर्नेलगायतका माग राखी आन्दोलनमा छन् । उनीहरुको धर्नामा केही दिनअघि प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको थियो ।
बरालले अब आन्दोलनलाई देशव्यापी बनाइने पनि बताइन् । ‘मानवअंगको मात्र होइन, नेपालभरका नर्सको समस्या हो, यही बेला हामी आन्दोलनलाई देशव्यापी बनाउँछौं,’ उनले भनिन् ।
केन्द्रले स्थापनाकालदेखि सेवा प्रदान गरिरहेका नर्सहरुले पनि लोकसेवाको परीक्षा दिनुपर्ने र उत्तीर्ण गरेपछि मात्र सेवामा फर्कन पाउने भन्दै सूचना निकालेपछि नर्सहरु अझ रुष्ट छन् ।
‘अस्पतालप्रति समर्पित भई हामीले सेवा प्रदान गरिरहेका छौं, लोकसेवा पास हुन नसक्नेलाई के गर्ने भन्ने अन्यौल छ, यस्तो अवस्थामा त्यस्ता नर्सहरुलाई काजमा काम गर्ने व्यवस्था मिलाउनु पर्छ भन्ने हाम्रो माग हो, तर हाम्रा आवाजलाई बेवास्ता गरिएको छ,’ आन्दोलरत एक नर्सले भनिन् ।
अस्पतालका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले माग पूरा गर्ने आश्वासन पटक–पटक दिएपनि कार्यान्वन नगरेको उनीहरुको गुनासो छ । वार्ताका लागि स्वास्थ्य मन्त्रालय धाईरहे पनि माग पूरा गर्न भने ढिलाई भइरहेको उनीहरुको भनाइ छ ।
नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले उमेर नाघेका नर्सहरुलाई कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा स्वास्थ्य मन्त्रालयसँग कुरा राखेको उल्लेख गर्दै उनीहलाई करारमा राखेर या गोल्डेन ह्याण्डसेक गरेर, जसरी भएपनि समस्या समाधानको पहल गरिने बताइन् ।