नक्कली फेसबुक आइडीमार्फत् वैदेशिक रोजगारीमा पठाउने लोभ देखाएर एक गिरोहले २० जनासँग २२ लाख ठगेको छ । आफू ठगिएको भन्दै २० पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि विभागले एकजनालाई पक्राउ गरेको छ भने २ जना फरार छन् । ठगिनेमा भोजपुर, सुनसरी र पाँचथरका १५ जना र काठमाडौंका ५ युवा छन् ।
दाङका चन्द्र परियारले नक्कली फेसबुक आइडी बनाएर दुबईमा १८ सय दिराम पाइने विवरण राखेको र त्यसैका आधारमा आफूहरुबाट २२ लाख रुपियाँ ठगी गरेको पीडितहरुको आरोप छ । पीडितहरुको उजुरीका आधारमा विभागले परियारलाई नियन्त्रणमा लिएको हो । ठगीमा संलग्न भएका भनिएका तिलकजंग शाह र मदन नाथ फरार रहेको विभागले जनाएको छ ।
घटना के थियो ?
पीडित प्रकाश तामाङका अनुसार दुबईको चोकुलाला कम्पनीमा १८ सय दिराम पाउने रोजगारीको विवरण एक महिनाअघि फेसबुकमा देखेपछि उनले त्यो फेसबुक आइडीमा आफू इच्छुक भएको भन्दै मेसेज गरे । त्यसपछि चन्द्र परियारले आफ्नो फोन नम्बर दिँदै भने– ‘एकहप्ता भित्र नभए बढीमा १५ दिनभित्र उडाइन्छ । म अहिले भारतमा छु, पैसा कपिलवस्तु बस्ने धिरेन्द्र गुप्तालाई पठाई दिनु, उहाँ पनि हाम्रै मान्छे हुनुहुन्छ, उहाँले नै श्रमको सबै काम गर्नुहुन्छ ।’
त्यसपछि प्रकाशले १५ जनाको समूहबाट सुरुमा साढे ४ लाख पैसा आइएमईबाट गुप्तालाई पठाए ।
त्यसपछि उनीहरुलाई भिसा तयार भएको भन्दै काठमाडौं बोलाइयो । गुप्ताले चैत २१ गते दरबारमार्गमा चियापान कार्यक्रम राखेका छौं भनेर १५ जनाको समूहलाई बोलाए र चिया पनि खुवाए । सोही दिन २२ गते शुक्रबार ११ बजे उडाउने आश्वासन पनि गुप्ताले दिए । त्यो दिन उनीहरुले बाँकी १२ लाख पनि गुप्तालाई बुझाए । ‘तर त्यही दिन राति ८ बजे फोन गर्दा गुप्ताको फोन अफ थियो, त्यसपछि मात्र हामीले आफूहरु ठगिएको चाल पायौं,’ पीडित प्रकाशले भने ।
त्यतिन्जेलसम्म उनीहरुले पैसा बुझाएको व्यक्ति धिरेन्द्र गुप्ता नै हो भनी ठानेका थिए । तर, पैसा लिएको उक्त व्यक्ति धिरेन्द्र गुप्ता नभई तिलकजंग शाह भएको खुलासा पछिमात्र भयो ।
‘खासमा त्यसबेला बाँकी पैसा लिन आउने मानिस गुप्ता नभई तिलकजंग शाह रहेछन्,’ अर्का पीडित इनोज तामाङ्गले भने, ‘शाहले त्यसबेला तपाईहरुलाई भोलि उडाउने हो, श्रमको लागि बाँकी पैसा दिनुस् भनी १२ लाख लिए, उडाउने दिन शाह र परियार दुवैजना सम्पर्कविहीन भए ।’
आफुहरु ठगिएको पक्का भएपछि पीडितहरु आईएमईमा पैसा पठाएको आधारमा धिरेन्द्र गुप्ता रहेको स्थान कपिलवस्तु पुगे र त्यहाँको प्रहरीमा उजुरी दिए । प्रहरीले त्यसपछि बल्ल सक्कली धिरेन्द्र गुप्तालाई पक्राउ ग¥यो । धिरेन्द्रकै बयानका आधारमा चन्द्र परियार रुकुमबाट पक्राउ परे ।
यसअघि नै चन्द्र परियारको समूहले ललितपुर सातदोबाटोका अजय अछामी सहितका ५ जनालाई ठगी गरेको बताइएको छ। ‘हामी ५ जनाको समूहले साढे ५ लाख रुपैयाँ परियारले भनेको व्यक्ति मदन नाथलाई दिएका हौं, तर अहिले मदन नाथ फरार छन्,’ पीडित अछामीले भने, ‘परियारले सम्पर्क गरेको फेसबुकमा उनको कुनै फोटो राखिएको थिएन, मैले तपाईको फोटो पठाउनुभन्दा अरु नै व्यक्तिको फोटो पठाइएको रैछ, त्यो कुरा पनि पछि मात्र थाहा भयो ।’
पैसा हात नपरुञ्जेलसम्म चन्द्र परियार र मदन नाथले तारन्तार फोन गरिरहेको पैसा हात पारेपछि दुवै व्यक्ति सम्पर्कविहीन भएको अछाामीले बताए। उनले मदन नाथलाई पक्राउ गर्न महानगरीय प्रहरी कार्यालय टेकुमा फोटोसहितको सम्पूर्ण विवरण दिएको तर पक्राउ गर्न प्रहरीले वास्ता नगरेको गुनासो गरे ।
चन्द्र परियार भन्छन् : मलाई फसाइयो
ठगी आरोपमा पक्राउ परेका परियारले भने तिलकजंग शाहको समूहले आफूलाई फसाएको दाबी गरेका छन् । ‘तिलकले नक्कली आइडी बनाएर फेसबुकमा रोजगारीको सबै विवरण हालेका रहेछन् । त्यो आइडी मलाई चलाउन दिए,’ परियारले भने, ‘अनि मलाई तैंले यो आइडी चलाएर केटाहरु जम्मा गर तलार्इं पनि तेरो डुबेको पैसा र कमिसन दिउँला तर आफ्नो बारेमा कुनै पनि कुरा नखोल्नु, सबैसंग आइडीको नाम र मान्छे भएर कुरा गर्नु, नत्र विश्वास नहुन सक्छ भनेर मलाई फसाए।’
उनले आफूले तिलकजंग शाहले बनाएको योजनाको लोभमा परि सबैसंग पैसा लिएर नयाँ दिल्लीको बस स्ट्याण्डमा साढे ४ लाख रुपैयाँ बुझाएको बताए ।
प्रमुख गिरोहलाई नियन्त्रणमा लिइन्छ : विभाग
विभागका अनुसन्धान अधिकृत धिरेन्द्र पुडासैनीले पीडित र आरोपी दुबैको बयान लिएर कारवाहीको प्रकृया अगाडि बढ्ने बताए । ‘पीडितले भनेका कुराहरु प्रमाणित भए दोषीलाई वैदेशिक रोजगारी ऐन २०६४ को दफा १० र ४३ अनुसार कारबाही गरिनेछ र पीडितले उक्त पैसाको हर्जाना ५० प्रतिशतसमेत पाउनेछन्,’ पुडासैनीले भने । ठगी गिरोहलाई नियन्त्रण ल्याउन थप अनुसन्धान प्रक्रिया अगाडि बढाउने उनले बताए ।