नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले संसदमा दर्ता गराइएका मिडिया काउन्सिल, सुरक्षा परिषद् र राष्ट्रिय मानवअधिकार सम्बन्धी विधेयक लोकतन्त्रविरोधी भएकाले तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन् । लोकतन्त्रमाथि आघात पुग्ने गरी ल्याइएका त्यस्ता विधेयक कांग्रेसले पास हुन नदिने उनले स्पष्ट पारेका छन् ।
विराटनगर बिमानस्थलमा शनिबार संचारकर्मीसँग देउवाले संविधान प्रदत्त अधिकार हनन् हुने कार्य कांग्रेसलाई मान्य नहुने भन्दै संसदमा दर्ता गराएका ती विधेयक फिर्ता लिनुपर्ने बताए । मानव अधिकार र प्रेस स्वतन्त्रताप्रति नेपाली कांग्रेस भने प्रतिबद्ध रहेको उनको स्पष्टोक्ति थियो ।
सभापति देउवाले संचारमाध्यमले के लेख्ने वा नलेख्न विषयप्रति पत्रकार र सञ्चारमाध्यम आफै गंभिर भएकाले प्रेसमाथि अंकुश लगाउने कार्य कांग्रेसलाई मान्य नहुने स्पष्ट पारेका छन् । उनले कांग्रेसले शुरु गरेको जागरण अभियान महत्वपूर्ण भएको उल्लेख गर्दै यसले कांग्रेसलाई एकताबद्ध बनाउन बल पुगेको दाबी गरेका छन् ।
उनले पार्टीभित्रको आन्तरिक मतभेद हटाउन समेत अभियान सफल हुदै गएको उल्लेख गरे । गाउँगाउँमा संचालित जागरण अभियानले पार्टीका नेता कार्यकर्तालाई एकठाउँमा ल्याएको उनको भनाई थियो । जागरण अभियानले कांग्रेसलाई पहिलेको अवस्थामा फर्काउने देउवाले बताए ।