उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संघीयता कार्यन्वयनमा अलमल भईरहेको बताएका छन् ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान मन्त्री यादवले संविधानले संघीय संरचना अनुरुपको शासकीय स्वरुपको परिकल्पना गरेपनि कार्यन्वयनमा अलमल भएको बताए ।
पार्टीका प्रथम प्रदेश १ स्तरीय एकता अधिवेशनको आइतबार विराटनगरमा उद्घाटनपछि बौल्दै अध्यक्ष यादवले ठूला पार्टीको नीति विपरित संघीयता आएका कारण कार्यन्वयन अल्मिलिएको आरोप लगाए।
उनले नेपाल कम्यूनिष्ट पार्टी र नेपाली काँग्रेसलाई अझैपनि संघीयता आवश्यकता नरहेको बताए । संविधान कार्यन्वयनमा देखिएको जटिलता पनि मुख्य पार्टीको कारण नै सिर्जना भएको उनको जिकिर थियो ।
संघीयता र समावेशिताको मुद्दा मधेश आन्दोलनका कारण स्थापित भएपनि संस्थागत हुननसकेकोले दवाव सिर्जना गर्नुपर्ने यादवको भनाई थियो ।
पार्टीका वरिष्ठ नेता अशोककुमार राईले संविधान र संघीयताको रक्षासँगै संस्थागत गर्नका लागि पार्टीपंक्ति एकतावद्ध हुनुपर्ने जरुरी रहेको बताए । पुराना पार्टीहरु जनमत प्राप्त र शक्तिशाली रहेपनि वैकल्पिक शक्तिको रुपमा रहेको संघीय समाजवादी फोरम नेपालले जनस्तरमा आफ्नो धारणा लिएर जानुपर्ने बताए।
दुईदिनसम्म चल्ने फोरम नेपालको प्रदेश अधिवेशनमा १४ जिल्लाबाट ५५० जना प्रतिनिधि तथा पर्यवेक्षकको सहभागीता रहेको बताइएको छ । नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सोमबार सम्पन्न हुने बताइएको छ ।