बैतडीमा एक दम्पतिले पहिलो सन्तानका रूपमा छोरी जन्मिदा भोज खुवाएका छन्। पाटन नगरपालिका–८ स्थित खोला भन्ने गाउँका मदन भाट र हेमन्ती भाटले आफूले पहिलो सन्तानका रूपमा छोरी पाएको अवसरमा स्थानीयहरूलाई भोज खुवाएका हुन्।
‘हाम्रो गाउँ समाजमा छोरा जन्मिदा मात्र खसी काट्ने र छोरी जन्मिदा हेपाहा प्रवृति गरी कुनै पनि भोज भतेर नगर्ने गरिन्छ। त्यसैले यो परम्परालाई अन्त्य गर्न छोरीको न्वारनका दिन खसी काटेर भोज आयोजना गरेका हौं,’ भाट दम्पतिले भने।
समाजमा महिला पुरूष बराबर हुन् र छोराछोरीलाई समान व्यवहार गर्नुपर्छ, शिक्षा दीक्षा छोराकै समान छोरीलाई पनि दिनुपर्छ भन्ने मान्यताका आधारमा नातिनीको न्वारनका दिन भव्य भोज भतेरको आयोजना गरेको वीरबहादुर भाटले बताए। समाजमा छोरा जन्मेपछि खुसी हुने र छोरी जन्मेपछि दुःख व्यक्त गर्दै ( परघरी ) जन्मियो भन्ने शब्दलाई समाजबाट हटाउन आवश्यक रहेको उनको भनाइ छ।
घरमा लक्ष्मीका रूपमा पहिलो नातिनी पाएकोमा खुसी व्यक्त गर्दै नातिनीको अन्नप्रासन र अक्षर आरम्भमा समेत यस्तै भोजको आयोजना गर्ने रोहीणीका हजुरबुवा वीरबहादुरले बताए। मदन र हेमन्ती २०७४ असारमा बैबाहिक बन्धनमा बाधिँएका थिए।