बैतडीको सिगास गाउँपालिका वडा नम्बर ९ चौखाम स्थित चौखाम स्वास्थ्य चौकीको भवन जीर्ण हुँदा सेवा प्रवाहमा समस्या भएको छ ।
२०५३ सालमा स्थापना भएको ३ कोठे भवन पानी पर्दा चुहिने गरेकोे गरेको स्वास्थ्य चौकी ईन्चार्ज हेमन्तसिंह साउदले बताए । स्वास्थ्य चौकी ईन्चार्ज साउदका अनुसार भवनको सबै कोठामा , झ्याल , ढोकामा पनि धमीरा लागेको छ ।
जिर्ण रहेको भवन भत्कीन सक्ने अवस्थामा रहेको छ । टिनले छाएको स्वास्थ्य चौकीको भवन जिर्ण हुदाँ स्वास्थ्य चौकीमा पुग्ने बिरामीहरुलाई गुणस्तरीय सेवा दिन नसकिएको स्वास्थ्य चौकी ईन्चार्ज साउदले बताए । ज्यान जोखीममा राखेर आफुहरुले बिरामीको उपचार गर्नु परिरहेको उनले बताए ।
साथै स्वास्थ्य चौकीमा भएका प्रसुती टेवल , प्रसुती गराउन प्रयोग गरिने उपकरणहरु पनि खियाँ लागेको अवस्थामा रहेका उनले बताए । स्वास्थ्य चौकीको यो अवस्थामा सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन सकीने अवस्था नरहेको उनकोे भनाई छ । स्वास्थ्य चौकीमा पानीकाे समेत समस्या रहेको छ ।
स्वास्थ्य चौकीमा पानीको समस्याले प्रसुती सेवा दिन असहज भएको ईन्चार्ज साउदको भनाई छ । यस्तै स्वास्थ्य चौकीमा बिरामी चेकजाचँको लागी चाहीने सामान्य अत्यावश्यक उपकरण थर्मामीटर , रक्त्त चाप , तौल नाप्ने उपकरण समेत बिग्रीएको स्वास्थ्य चौकी ईन्चार्ज साउदले बताए ।
भवनको कारण आफूहरु सेवा लिन स्वास्थ्य चौकी जान डराउने गरेको स्थानीयकाे भनाई छ । स्वास्थ्य चौकीको समस्या बारे वडा अध्यक्ष लक्ष्मी देवी चन्दले वडा कार्यालयलाई अख्तियारी नभएकोले केही गर्न नसकेको बताएकी छन् ।