बैतडीमा बेपत्ता भएकी बुहारी खोज्न गएकी एक महिला आफै वेपत्ता भएकी छिन्। दोगडाकेदार गाउँपालिका-४, श्रीकेदार साउगाँउकी ३० वर्षीया निर्मला भट्टलाई खोज्न घरबाट निस्किएकी उनकी सासु ५२ वर्षीया पार्वती भट्ट आफै वेपत्ता भएकी छिन्।
बुधबार घाँस काट्न घरबाट निस्किएकी निर्मला साँझसम्म घर नफर्किएपछि उनलाई खोज्न पार्वती निस्किएकी थिइन्। बुहारी निर्मलाको खोजीका क्रममा बिहीबार बिहान स्थानीय ओडीगाउँ जंगलमा झुण्डिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए।
बुहारीलाई खोज्न निस्किएकी पार्वती पनि घर नफर्किएपछि घर परिवारका अन्य सदस्यहरुले खोजतलास गर्दा निर्मलालाई मृत भेटेको प्रहरीले जनाएको छ। बुहारी निर्मलालाई खोज्न निस्किएकी सासु पार्वती अहिलेसम्म पनि बेपत्ता छिन्।
बेपत्ता पार्वतीको खोजीका लागि प्रहरी चौकी खोचलेकवाट प्रहरी सहायक निरीक्षक श्याम सिंह महराको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। घटना रहस्यमय रहेकाले थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।