कोजाग्रत पूर्णिमाकाेकाे अवसरमा मोरङ कांग्रेसले पनि आज शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्याे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सहभागीले कांग्रेस तत्कालीन संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले शुरु गरेको चियापानले विशेष महत्व रहेकोमा जोड दिएका थिए ।
नेता अर्यालले देशलाई प्रजातान्त्रिक आन्दोलनमार्फत जनअधिकार स्थापित गराउने नेता तथा जननायकका रुपमा चिनिएका वीपीले बसालेको संस्कारले अहिलेसम्म निरन्तरता पाएको बताए। ‘देशले आन्दोलनका विभिन्न आरोह अवरोध पार गरेपनि कांग्रेसले बसालेको यो संस्कारले निरन्तरता पाएको र यसले पार्टीलाई थप संगठित वनाउने उनको भनाई थियो ।
कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले कांग्रेस नयाँ शिराबाट उठ्नै लागेको अवस्थामा चियापानले विशेष महत्व राखेको बताउँदै भन्दै ,‘‘केन्द्रमा मात्र मनाउने गरिएको यस्तो कार्यक्रम जिल्लामा समेत हुन थालेकाले यसले एक आपसमा शुभकामना दिन सम्बन्धलाई अझ सुधार गर्न सहयोग पुगेको दावी गरे ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले कांग्रेस र नेकपा संविधान निर्माणमा संगसंगै हिंडेको तर अहिले आवधिक निर्वाचनबाट मात्र एउटा सरकारमा र अर्को प्रतिपक्षमा रहेको बताए ।, गणतान्त्रिक संविधान कार्यान्वयन गराउने जिम्मेवारी दुबैको काँधमा रहेकाले दुुवै पार्टीबीच सहकार्य आवश्यक रहेको उनले बताए ।
प्रदेश १ का कांग्रेस प्रमुख सचेतक केदार कार्कीले कांग्रेसले लोकतान्त्रिक आन्दोलनको सदैव अगुवाई गरेको र देशलाई विकासतर्फ लग्ने अभिभारा पनि अब कांग्रेसले लिनुपर्ने बताए ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नेपालीहरुमाझ सबै पर्वको उत्तिकै महत्व रहेको चर्चा गर्दै आपसी भातृत्वका लागि पनि कांग्रेसको चियापान जिल्ला तहमा हुनु महत्वपूर्ण भएको बताए । राष्ट्रसभा सदस्य रमेशजंग रायमाझीले चियापान कार्यक्रमको महत्ववारे प्रकाश पारेका थिए ।
कार्यक्रमका अन्य वक्ताहरूले चाडपर्वको अवसरमा सबैले मनको तुष फालेर अघि बढ्नु पर्ने बताएका थिए । कांग्रेस जिल्ला पार्टी कार्यालय परिसरमा भएको कार्यक्रममा कांग्रेस कार्यकर्ता, शुभचिन्तक तथा सर्वसाधारणको उत्साहजनक सहभागिता थियो ।