तीन दिनदेखिको अविरल वर्षाले तराई–मधेसका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।
वर्षाको पानी निकास नहुँदा जनकपुर पनि डुबानमा परेको छ । भारी वर्षाले प्रदेश २ का मुख्यमन्त्री कार्यालय, जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय, संघीय प्रहरी कार्यालय, जिल्ला हुलाक कार्यालय, आन्तरिक राजस्व कार्यालयलगायत दर्जनौं सरकारी कार्यालय डुबानमा परेको छ ।
यस्तै वर्षाका कारण जनकपुर उपमहानगरका १, २, ३, १०, ११ लगायत वडाका घर पनि जलमग्न भएका छन् ।
पिडारी चोक, नमुनाबस्ती, मुजेलिया, विश्वकर्मा चोक, सरन्चिया चौरी, माछा बजार, बसपार्क, पुलचोक, सीता चोक, कदम चोकलगायत स्थानमा निकास नहुँदा घर–घरमा पानी पसेको हो ।
पिडारी चोकको नमुना बस्तीमा ४ फिटसम्म पानी जमेको छ । घरमा पानी पसेपछि स्थानीयको जनजीवन कष्ठकर बनेको छ । हालसालै निर्माण भएका जनकपुरका सडकहरू पनि जलमग्न भएका छन् । ग्रामीण क्षेत्र का सडकहरु हिलाम्मे बनेका छन् ।