धनुषा बटेश्वर गाउँपालिका १, चित्रपुरका तेजीलाल महतोले खेतमा ब्याड लगाएको २ महिना बित्यो । सिँचाइ नहुँदा धानको ब्याड सुक्न थालेको छ ।
असार सकिन सातादिन मात्र बाँकी रहँदा पनि पानी नपरेपछि रोपाइँ कसरी गर्ने उनलाई चिन्ताले सताएको छ । करिब २ बिघाका लागि रोप्न राखेको ब्याड अहिलेसम्म ५ कट्ठामा मात्र रोप्न सकेका छन् । ‘पानी पर्दैन, इनार पनि सुकिसकेका छन् गाउँमा बोरिङ भए पनि बिग्रिसकेको छ,’ उनले भने, ‘खेत रोप्न वैशाखमै धानको बेर्ना तयार पारेका थियौँ’ तर जेठमा वर्षा भएन । सबै बेर्ना सुक्यो । बेर्ना सुकेपछि गोरुलाई खुवायौँ ।’
रोपाइँका लागि २० हजार रुपैयाँ खर्चेर खेत तयार गरेका उनले ६ हजारको धान बीउ छरेका थिए । ‘पानीको समस्याबारे सबैलाई थाहा छ तर समस्या समाधनका लागि कसैको चासो देखिँदैन,’ उनले भने, ‘कम्तीमा बिग्रिएको बोरिङ मर्मत गराउँदा हुन्थ्यो ।’
चित्रपुरकै मंगल महतोले पनि १ बिघा रोप्ने तयारीमा छन् । पानी नहुँदा उनले अहिलेसम्म २ कट्ठा मा धान रोप्न सके ।
असार सकिनै लाग्दा पनि पानी नपरेपछि प्रदेश २ का किसान संकटमा परेका छन् । समयमा पानी नपरेपछि जिल्लामा अहिलेसम्म १ प्रतिशत मात्र रोपाइँ भएको छ । समयमा पानी नपर्दा किसान मर्कामा परेका हुन् । कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकरप्रसाद साहका अनुसार पानी नपरेपछि १५ प्रतिशितसम्म भइसक्नुपर्ने रोपाइँ १ प्रतिशतमै सीमित भएको छ । ‘सिँचाइ सुविधा छैन, किसान आकाशे पानीकै भरमा छन् केही स्थानमा चापाकल तथा इनारमा मोटर जडान गरी रोपाइँ गरिएको छ,’ साहले भने । केहीदिनयता वर्षा नभएपछि खानेपानीको अभाव पनि बढेको छ । ‘पानी नपरेपछि खेतमौ धान सुक्न थालेका छन्, किसान पीडामा छन् । यो पहिलोपटक होइन यसअघि पनि भएको थियो,’ उनले थपे ।
सिँचाई नहुँदा उब्जाउ जमिन बाँझै राख्नुपर्ने बाध्यता रहेको बटेश्वर गाउँपालिका २ का राजनारायण महतोले बताए । उनले मोटरबाट सिँचाइ गर्न किसानहरू बाध्य रहेको दुखेसो सुनाए । धनुषामा करिब ७५ हजार हेक्टर खेतीयोग्य रहेको तथ्यांक छ । पछिल्लो समयमा पानी नपरेपछि जिल्लाका किसान आफ्नो पेसा छाडेर वैदेशिक रोजगारीतर्फ आकर्षित बनेका छन् ।
खेतमा सिँचाइका लागि स्थानीय सरकारले पनि खासै ध्यान नदिएको मिथिला नगरपालिका ८ का विपिन महतोले गुनासो गरे । ‘कृषिका लागि सिँचाइको व्यवस्थाबारे भाषण गरे पनि यो भाषणमै सीमित देखिन्छ,’ धनौजी गाउँपालिका ४ का हरिनारायण साहले भने । पर्याप्त वर्षा नहुँदा अन्नको भण्डार मानिने प्रदेश २ का ८ जिल्लामा असार तेस्रो सातासम्म १५ प्रतिशत मात्रै रोपाइँ भएको छ । २५ प्रतिशत जमिनमा सिँचाइ सुविधा उपलब्ध रहेको यी ८ जिल्लामा २ लाख ९४ हजार ८ सय ४० हेक्टरमा धान खेती गरिन्छ ।
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अधिकृत रजनीश मिश्रले रोपाइँको गति सिँचाइ अभावले सुस्त गराएको बताए । ‘पम्पसेट, ट्युबवेलबाट सिँचाइ गरी कतैकतै धान रोपिएको छ,’ मिश्रले भने, ‘वर्षाको आसमा किसान आकाश ताकिरहेका छन् ।’