धनुषामा बालकलाई बली दिएका शत्रुधन महतोलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
शक्तिशाली तान्त्रिक सिद्धीकालागि मिथिला नगरपालिका–६ ढल्केवरका अढाई वर्षीय बालक आर्यन शाहको बली दिएको आरोपमा पक्राउ परेका ५५ वर्षीय महतोलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
सोमबार न्यायधीश उपेन्द्र प्रसाद गौतमको एकल इजलासले महतोलाई पुर्पक्षकालागि थुनामा राख्न आदेश दिएको हो । महतोलाई जलेश्वर कारागार पठाइएकोछ ।बालकलाई बली दिएको आरोपमा महतोलाई जिल्ला सरकारी वकिलको कार्यालयले आजिवन कारावासको अभियोग दर्ता गराएको छ । महतोमाथि अपहरण, बन्धक, कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।
वैशाख २३ साँझ हराएका आर्यनको शव २४ गते बिहान घरनजिकैको बाँसघारीमा गर्दन रेटिएको अवस्थामा फेला परेको थियो । घरको ढोकामै खेलिरहेका बालकलाई घरमा कोही नरहेको मौका छोपी महतोले बालकलाई ललाई फकाइ लगेका थिए । उनले राति २ बजे आँगनमा बालकलाई बन्ध बनाएर धरिलो हतियार रेटेर बलि दिएका थिए ।