सिरहा र बारामा कर्तव्य ज्यान मुद्दामा फरार दुइजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका–११ मधुरी टोल बस्ने बिर बहादुर चौधरी र सिरहा औरही गाउँपालिका–२ बस्ने २१ वर्षीय गंगाराम मण्डल खत्वे रहेको प्रहरीले जनाएको छ ।
चौधरीले २०३९ साल जेष्ठ ०८ गते सोही स्थानका सुकदेव साह सोनारलाई घरबाट बोलाई सोही राती पलट साह सोनार सँग मिलि सुकदेव साहको घाँटी रेटी हत्या गरेको थियो । चौधरीले साहलाई हत्या गरी गाउँ नजिक रहेको डेरा नदिमा लास फालेका थिए । उनलाई तत्कालिन मध्यमाञ्चल क्षेत्रीय अदालत हेटौंडाले २० वर्ष कैद सजाय फैसला गरेको थियो ।
फरार रहेका चौधरीलाई बिषेश सूचनाको आधारमा आफ्नै गाउँ घरमा लुकीछिपी बसेको अवस्थाम जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले २०७६ जेष्ठ २८ गते पक्राउ गरेको थियो । पक्राउ परेका चौधरीलाई बारा जिल्ला अदालतमा पेश गरी तोकीएको कैद सजाय भुक्तानको लागि वीरगंज कारागार कार्यालय, पर्सामा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सोही मुद्दामा सर्वश्व सहित जन्मकैदको सजाय भएका प्रतिवादी पलट साह सोनार मिति २०७५ भाद्र ५ गते पक्राउ परी हाल वीरगंज कारागार कार्यालय, पर्सामा कैद सजाय भुक्तान गरी रहेका छन् । यस्तै सिरहाका खत्वेले गत मंसिर ८ गते सिरहा धनगढीमाई नगरपालिका–६ का सुभाषकुमार यादवलाई अपहरण गरी भारतको मधुबनी भुतही बलान तटबन्ध नजिक गोली हानेर फरार भएका थिए । गोली लागि गम्भीर घाइते भएका यादवको उपचारको क्रममा बिहारको पटनास्थित पीएमसीएच मेडिकल कलेजमा मंसिर ९ गते मृत्यु भएको थियो ।
खत्वे भारतबाट नेपाल फर्केर लुकिछिपी बसिरहेको प्रहरीले खबर पाएको थियो । गोप्य सूचनाको आधारमा प्रहरीले खत्वेलाई सिरहा नगरपालिका–७ बाट लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता डीएसपी दानबहादुर थापाले जनाएका छन् । पक्राउ परेका खत्वे र घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।