धनुषाका निर्माण व्यवसायीहरुले सबै प्रकारका टेन्डरहरु बहिष्कार गर्ने घोषणा गर्दै आन्दोलनमा उत्रेका छन् ।
सार्वजनिक खरिद नियमावली (छैठौं) संशोधन २०७५ का केही बुँदाविरुद्ध निर्माण व्यवसायी महासंघले टेन्डर बहिष्कार लगायतका आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । निर्माण व्यवसाी महासंघ धनुषाको टोली शुक्रबार प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीलाई भेटेर टेन्डर बहिष्कारबारे जानकारी गराएका छन् ।
निर्माण व्यवसायीहरुले सरकारलाई आफ्नो इजाजतपत्र बुझाउने, कार्यक्षेत्रमा कालोपट्टी बाँधेर काम गर्ने, निर्माण उपकरणमा कालो झण्डा लगाएर काम गर्नेछन् । यसैगरी सडकमा शान्तिपूर्ण र्याली र पछि आ–आफ्नो उपकरणसहित प्रदर्शन गर्ने कार्यक्रम रहेको निर्माण व्यवसायी संघले जनाएको छ । १४ जेठदेखि सुरु भएको टेन्डर बहिष्कारको आन्दोलनलाई उनीहरुले निरन्तरता दिएका छन् ।