जनकपुरबाट ८ भारतीय लुटेरालाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ। मन्दिरका महन्थको घरमा लुटन आएका कुख्यात पेशेवर भारतीय लुटेराहरु जनकपुरबाट पक्राउ परेका हुन्।
लुटेरालाई पक्राउ गर्ने क्रममा दुर्ईतर्फी फायरीङ्ग समेत भएको थियो। प्रहरीको जवाफि फायरीङ्गमा एक लुटेरा घाइते भएका छन्। बुधवार राति विहारकुण्डस्थित जानकी विहारको महन्थ नारायण शरणको वासस्थानमा नगद र मन्दिरमा रहेको गरगहना लुटपाट गर्न आएका ८ जना लुटेरा प्रहरीसँगको दोहोरो भिडन्तको क्रममा पक्राउ परेका हुन्।
प्रहरी प्रधान कार्यालयबाट खटिएको प्रहरीको बिशेष टोली, प्रदेश नंबर २ को प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले ती लुटेराहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत विहार राज्य समस्तीपुर जिल्ला गदोपुर बस्ने रवि मल्लिक, सिमरी –८ बस्ने २० वर्षीय सहिल रजक, वडा नम्बर ३ बस्ने वर्ष २४ का अजित कुमार सिंह, वडा नम्बर ४ बस्ने वर्ष २८ का सुजित कुमार राय, वडा नम्बर ६ बस्ने वर्ष ३० का अजित कुमार सिंह, वडा नम्बर २ बस्ने वर्ष २० का अमित कुमार यादव, जिल्ला मधुवनी साहरघाट ५ बस्ने वर्ष ३२ का रंजित कुमार भगत र सोही स्थानका वडा नम्बर ८ बस्ने वर्ष ३८ का संजय कुमार सुमन छन्।
उनीहरुको साथबाट मेड इन युएसए लेखेको म्यागजीन र खोका सहित पेस्तोल १ थान, चेम्बरमा गोली लोड रहेको कटुवा पेस्तोल १ थान, खुकुरी १ थान हतियार बरमद भएको प्रहरी उपरीक्षक शेखर खनालले बताए। यस्तै, उनीहरुले भारतबाट चढेर आएको मोटरसाइकल दुई थान र स्कुटर एक थान, मोबाइल ३ थान, आधार कार्ड १ थान समेत बरामद भएको छ। पक्राउ परेका सात जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।
प्रहरीको गोली लागेर घाइते भएका रवि मल्लिकको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। उनको खुट्टमा दुइवटा गोली लागेको छ। सात जनालाई प्रहरीले घटनास्थबाटै पक्राउ गरेको छ भने स्कुटरबाट भाग्दै गर्दा संजय कुमार सुमनलाई महोत्तरी प्रहरीको सहयोगमा महोत्तरीको मटिहानीबाट पक्राउ गरिएको हो।
धनुषाका प्रहरी उपरीक्षक खनालका अनुसार डाँकाहरु केही दिन अघिदेखि नै मन्दिर छेउछाउ घुम्दै योजना लुटपाट गर्ने बनाइरहेका थिए।
बुधवार दिउँसो ती डाँकाहरु जनकपुरको महावीर चोकस्थित लभ्ली होटलमा बसेका थिए। होटलमा बसेर राति साढे ९ बजे लुटपाट गर्ने योजना रहेको सूचना प्रहरीकहाँ पुगेको थियो। पक्राउ परेका आठै जना विरुद्ध डाँका उद्योग तथा हातहतियार खजाना मुद्धा दायर गरी घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक खनालले बताए।