मातातीर्थ औँशीको अबसर पारेर मकवानपुरमा १०८ जना आमालाई उपहारसहित सम्मान गरिएकाे छ । मनहरी गाउँपालिका ८ स्थित आमाघर आश्रमले प्रदेश नं ३ की प्रमुख अनुराधा कोइरालाको उपस्थितिमा ती आमाहरूलाई सम्मान गरेकाे हाे ।
आश्रमले उपलब्ध गराएको उपमहारमा काइँयो, कपालमा लगाउने तेल, लोसन पाउडर, नेलकटर, लिपगार्ड, टिका, कपालमा लगाउने काँटा, रुमाल, तौलिया, छाता, थर्मस, पानीको बोत्तल, मोजा, पर्स, ब्रस, साडी, चाँदीको औठी, कम्मल, गुलाबको फूल, उपहार राख्ने ब्याग, अभिनन्दन पत्र लगायतका आवश्यकीय सामग्रीहरु राखिएको किट बक्स रहेको छ ।
श्रृंगारपटार गरिएका १०८ जना आमाहरुलाई मञ्चमा राखी सम्मान गरिएको थियो । सम्मान समारोहमा बोल्दै प्रदेश प्रमुख अनुराधा कोइरालाले आमा भगवानकै रुप भएको बताइन् । उनले सन्तानका समस्याहरुको समाधानमा आमाको भूमिका हुने भन्दै आमा र भगवान एकै भएको रुपमा व्याख्या गरिन् ।
‘ठूला ठूला दुःखहरुमा आमाले दिने सहायताले सन्तानलाई सुख प्राप्ति हुन्छ’, प्रमुख कोइरालाले भनिन् । कार्यक्रममा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक एबम् मनहरी पिसपार्ककी संरक्षक राजयोगिनी रादादीजी, चलचित्र नायक एबम् निर्देशक निखिल उप्रेती, मिस नेपाल २०१८ श्रृंखला खतिवडा, फिलिपिन्सकी राजकुमारी अफिनिता चाइचाना लगायतले मन्तव्य ब्यक्त गरेका थिएन ।
कार्यक्रममा ३ नं प्रदेश सभामुख सानुकुमार श्रेष्ठ, प्रमुख बिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ, सांसद मुनु सिग्देल, जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, नायक तथा निर्देशक निखिल उप्रेती, मिस नेपाल श्रृंखला खतिवडा, संविधानसभा सदस्य राजाराम स्याङ्तान, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती लगायतको उपस्थिति रहेको थियो ।