धरौटी बुझाएर थुनामुक्त हुन चाहेका नेत्र विक्रम चन्द नेतृत्व नेकपाका मकवानपुर जिल्ला इन्चार्ज बीरबहादुर घलान (ज्वाला) पुनः प्रहरी हिरासतमा पुगेका छन् । उनलाई रिहा भएलगत्तै जिल्ला अदालत परिसरबाटै मकवानपुर प्रहरीले पक्रेको हो ।
गत चैत २८ गते पक्राउ परेका ज्वाला सोमबार जिल्ला अदालत मकवानपुर र जिल्ला प्रशासन कार्यालयमा तोकिएको धरौटी र जरिवाना बुझाएपछि रिहा भएका थिए । रिहा भएर निस्कनासाथ प्रहरीले उनलाई पुनः पक्राउ गरी हिरासतमा लिएको छ । धरौटी तथा जरिवाना बापतको ६० हजार रुपियाँ बुझाएर रिहा हुँदै गर्दा उनी अदालत परिसरबाटै पक्राउ परेका हुन् ।
गत बैशाख २ गते ज्वालालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो । तर, पुनः पक्राउ पर्ने डरले ज्वालाले धरौटी बुझाएनन् । धरौटी नबुझाएपछि उनलाई भीमफेदी कारागार चलान गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले ज्वालालाई अर्काे मुद्दामा संलग्नताका आधारमा पक्राउ गरेको जनाएको छ । उनलाई नेपाल बन्दको क्रममा मकवानपुरको हेटौंडा–१९, नेवारपानी नजिकै गाडीमा आगजनी गरेको अभियोग लागेको बताइएको छ ।