बजेट अभाव भएपछि देशभरका १५ सयभन्दा बढी विद्यालयको पुननिर्माण रोकिएको छ । भुकम्पबाट देशभरका ७ हजार ५ सय ५३ विद्यालय क्षतिग्रस्त भएकामा १ हजार ५ सय ५० विद्यालयको पुनर्निर्माण अघि बढ्न नसकेको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन (शिक्षा) का इन्जिनियर उद्धव नेपालले निर्माण प्रकिया अगाडि बढिरहेका बेला बजेट अभाव भएपछि पुनर्निर्माण पूर्ण रुपमा अगाडि बढ्न नसकेको बताए । यस्तै, बजेट नहँुदा १ हजार ३ सय ६८ शैक्षिक संस्थाका कामै सुरु हुन नसकेको उनले जानकारी दिए । विद्यालय भवन पुनर्निर्माणमा ढिलाई हुँदा बालबालिकाहरु ४ वर्षदेखि अस्थायी टहरा तथा खाली आकाशमुनी बसेर पढ्न बाध्य छन् ।
प्राधिकरणले देशभरका शैक्षिक संस्था पुननिर्माणका लागि १ खर्ब ३० अर्ब रुपियाँ आवश्यक भएकामा अझै ४४ अर्ब रुपियाँको स्रोत सुनिश्चित हुन नसकेको जनाएको छ । क्षतिग्रस्त विद्यालय पुनर्निर्माणमा अहिलेसम्म ४९ अर्ब रुपियाँ खर्च भएको र ५५ प्रतिशत पुनर्निर्माण सकिएको आयोजनाले जनाएको छ ।
बजेट अभावका साथै जग्गा विवाद, दक्ष जनशक्ति कमीलगायतका कारण पनि पुनर्निर्माणमा ढिलाई भएको इन्जिनियर नेपालको भनाइ छ । ‘युवाहरु वैदेशिक रोजगारीमा छन्, गाउ“घरमा जनशक्ति कमी छ, त्यसैले सीमित कालिगढमा भर पर्नुपर्दा छिटो काम हुन सकेको छैन,’ उनले भने ।
समस्या अरु पनि
उनले सीमित पारिश्रमिकमा काम गर्नुपर्ने भएकाले पुनर्निर्माणका लागि नियुक्त इन्जिनियरहरु बीचैमा काम छाडेर हिड्ने समस्या रहेको बताए । ‘यसले गर्दा पुनर्निर्माणका काम तोकिएको समयमा पूरा हुन सकेका छैनन्, तर हामीले उपलब्ध स्र्रोत साधनका आधारमा काम अगाडि बढाईरहेका छौ,’ उनले भने । यसका साथै काठमाडौंको चक्रपथभित्र निर्माण सामग्री बोकेका हेभी गाडी दिउँसो प्रवेश गर्न लगाइएको बन्देज र राति स्थानीय बासिन्दाको अवरोधका कारण पनि विद्यालय पुनर्निर्माणमा ढिलाई भएको उनले बताए ।
शैक्षिक संस्था पुननिर्माणका लागि भारत सरकारले ५ अर्ब, एशियाली विकास बैंकले ३० अर्ब, जापानी सहयोग नियोग (जाइका) ले १४ अर्ब, अमेरिकाले १४ अर्ब तथा विभिन्न गैरसरकारी संस्थाले १० अर्ब सहयोग तथा ऋण दिने प्रतिबद्धता जनाएका थिए । चीन भने पुनर्निर्माणमा आफै संलग्न भई काम अगाडि बढाइरहेको छ । चिनिया संलग्नतामै अहिले दरबार हाइस्कुल पुनर्निर्माण भइरहेको छ । उनले वर्षामा नचल्ने सडकका कारण ग्रामीण क्षेत्रमा निर्माण सामग्री पु¥याउन समस्या हुँदा पनि ढिलाई भएको उल्लेख गरे ।