चाडपर्वका बेला हुने ठगी रोक्न र कारबाहीको दायरामा ल्याउनका लागि मकवानपुर प्रशासन सक्रिय भएको छ ।
जिल्ला प्रशासन कार्यालयले ठगी रोक्नका लागि असोज १५ गते सोमबारदेखि ‘सरप्राइज अनुगमन’ गर्दैछ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले स्पेसखबर डटकमसँग कुरा गर्दै भने–‘हामी बिगतमा जस्तो जम्बो टोली लिएर फिल्ड जाने छैनौँ, फिल्ड जाने अनुगमन टोली कारबाही गर्ने हैसियतको हुनेछ ।’
ठाउँका ठाउँ कारबाही हुनेगरी अनुगमन गरिने प्रमुख जिल्ला अधिकारी तामाङले बताए । यसअघि मकवानपुरको हेटौँडा, मनहरी लगायत बजारहरुमा अनुगमनका क्रममा अनुगमन टोलीका नाउँमा मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता अधिकारवादीहरु समेत सहभागी हुन्थे । त्यसो हुँदा सूचना बाहिर गएको र कारबाही गर्न समस्या भएको पाइएपछि सानो र अधिकारसम्पन्न टोली निर्माण भएको तामाङको भनाई ।
प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार तत्कालै खाद्य, कपडा, इन्धन र यातायातमा अनुगमन हुनेछ । खासगरी हेटौँडाबाट काठमाडौँ पुग्ने सिस्नेरी–फाखेलको खण्डमा गुड्ने टाटासुमोले गर्ने ठगीलाई पनि यसपटक नियन्त्रण गर्ने तयारी छ । ‘जसले जहाँ जुन रुपमा ठगी गर्छ, ऊ सीधै मुद्दाको सामना गर्न तयार भएर बसे हुन्छ’, प्रजिअ तामाङले भने–‘ठगलाई यो बर्ष छुटकारा हुन्न ।’