नेपाली कांग्रेसको बर्चश्व रहेको गोरखामा गत स्थानीय निर्वाचनको ठीक उल्टो परिणाम आएको छ। ११ वटा स्थानीय तह रहेको गोरखामा गत निर्वाचनमा दुई नगरपालिकासहित ९ वटा पालिकामा कांग्रेसले जित हात पारेको थियो।
तर ३० वैशाखमा सम्पन्न निर्वाचनमा कांग्रेस मुस्किलले २ गाउँपालिकामा चित्त बुझाउनु पर्ने भएको छ। जिल्ला सभापति नन्दप्रसाद न्यौपानेलगायत नेतृत्वले उम्मेदवार चयनमा गरेको मनपरी निर्णयका कारण गोरखामा कांग्रेसले लज्जास्पद हार बेहोर्नु परेको हो।
उम्मेदवारी चयनमा कतिसम्म मनपरी निर्णय भएको थियो भने भीमसेन थापा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एउटै वडाका उम्मेदवार अघि सारिएका थिए। गत निर्वाचनमा पनि भीमसेन थापा १ बाट उपप्रमुखको उम्मेदवार बनाइएको थियो। यस पटक फेरी प्रमुख र उपप्रमुख दुबै जना वडा नं १ बाट अघि सारिया। तर सो वडाको अध्यक्षमा कांग्रेस उम्मेदवारले नै हार्नु परेको छ।
जिल्ला नेतृत्वले स्थानीय केही व्यक्तिको अनेक प्रलोभनमा परेर जबर्जस्ती उम्मेदवार तोक्दा यो किसिमको हार बेहोर्नु परेको हो। यतिमात्र होइन, जिल्ला कार्य समितिमा रहेका जिम्मेवार पदाधिकारीहरु नै कांग्रेसका आधिकारिक उम्मेदवारका बिरुद्ध मत माग्दै हिडेको भए पनि तिनमाथि कार्बाही गर्न नेतृत्व तयार छैन। जसले गर्दा भीमसेन थापाका कांग्रेसजनहरु जे गरे पनि हुन्छ भन्नेहहरुलाई नेतृत्वले संरक्षण दिएको त हैन भनी प्रश्न गर्न थालेका छन्।
भीमसेनथापाको अध्यक्षमा माओवादी केन्द्रका लोकप्रसाद बन्जारा विजयी भएका छन्। ५ हजार ६ सय ५१ मत पाएर बिजयी भएका बन्जारा ०७४ को स्थानीय निर्वाचनमा काँग्रेससँग पराजित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रोशन गुरूङले ५ हजार १ सय ७६ मत पाए। उपाध्यक्षमा भने काँग्रेस उम्मेदवार अमृतादेवी वस्ती भट्टले ५ हजार १ सय ४७ मतसहित विजयी भएकी छन्।
गण्डकी गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका दीपक तिमिल्सिना ६ हजार ३२६ मत ल्याएर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका होमबहादुर रानाले ४ हजार ६५५ मत पाएका छन्। राना यसअघिको निर्वाचनमा पालिका अध्यक्ष निर्वाचित भएका थिए। उपाध्यक्षमा नेपाली कांग्रसकी ललिता अधिकारी निर्वाचित भएकी छन्। अधिकारी यसअघि पनि उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।
उनले ४ हजार ८२१ मत ल्याएकी छन् भने उनका प्रतिस्पर्धी जनता समाजवादीका भीम नारायण श्रेष्ठले ४ हजार ४४ मत पाएका छन्। आठ वटा वडा रहेको उक्त गाउँपालिकामा माओवादीले ६ वडा तथा कांग्रेस र एमालेले एक÷एक वडा जितेका छन्। २०७४ को स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित तीन वटा वडा जितेको धार्चे गाउँपालिकामा कांग्रेसले यसपटक सबै पद बुझाएर कांग्रेसले लज्जास्पद हार व्यहोरेको छ।
यसअघि गाउँपालिका अध्यक्ष जितेका कांग्रेसका सन्तबहादुर गुरुङ यो पटक भारी मत अन्तरले पछि परे। उनलाई एक हजार ८२५ मत अन्तरले पछाडि पार्दै माओवादीका लक्ष्मण गुरुङ बिजयी बने। अध्यक्षमात्र होइन, उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार फुलमाया गुरुङ पनि पराजित भइन्। माओवादी केन्द्रकी उम्मेदवार सुनिला गुरुङले उनलाई एक हजार ८०३ को फराकिलो मत अन्तरले पराजित गरेकी हुन्।
सहिद लखन गाउँपालिकामा माओवादी केन्द्रले जित हात पारेको छ। विजयी भएको छ । पार्टीबाट रमेशबाबु थापा मगर ५ हजार ४७४ मत पाएर विजयी भएका छन्। दोस्रो बनेका कांग्रेसका नारायण प्रसाद लामिछानेले ४ हजार ४३२ मत पाए। उपाध्यक्षमा पनि माओवादीबाट इन्दिरा तिवारीले ४ हजार ९९६ मत पाएर जितिन्। कांग्रेसकी शर्मिला श्रेष्ठले ४ हजार ४३२ मत पाएन्।
बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी भएका छन्। भट्टले ५ हजार ७१९ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीत बहादुर घलेले ४ हजार ८६४ मत ल्याए। उपाध्यक्षमा नेकपा माओवादीबाट सनमाया गुरुङ ५ हजार ७६५ मत ल्याएर निर्वाचित भएकी छन्। भट्ट र गुरुङ दोस्रो कार्यकालयका लागि निर्वाचित भएका हुन्।
उनका प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार लेखमाया रानाले ४ हजार ५७५ मत पाइन्। अजिरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रले जितेको छ। अध्यक्षमा दिपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल निर्वाचित भएका हुन्। देवकोटाले ३ हजार ७८७ मत ल्याए। उनका प्रत्यासी उम्मेदवार कांग्रेसका गोविन्द गुरुङले ३ हजार २८९ मत ल्याए। उपाध्यक्षमा बिजयी भुजेलले ३ हजार ५३२ मत ल्याएकी छन्। उनका प्रतिद्धन्द्धी कांग्रेसकी उम्मेदवार इन्द्र गुरुङले ३ हजार ३६१ मत ल्याएकी छन्।
उता, गत निर्वाचनमा कांग्रेसले जितको गोरखाका दुइवटै नगरपालिका कांग्रेसले गुमाउनु पर्ने अबस्था आएको छ। कांग्रेसले शुरुमा मेयरका लागि गोरखा नगरपालिकामा बिश्वदेव श्रेष्ठको नाममा निर्णय गरेको थियो । तर उनको नाम अन्तिम समयमा हटाएर निवर्तमान मेयर राजन पन्तको नाम तोकेपछि बजार क्षेत्रका कांग्रेसजन रुष्ट भएका थिए। यसो हुँदा वडा नं ६ र ७ राजनका पक्षमा भएन। जसलाई उनीहरुले मतदानमार्फत व्यक्त गरे। गोरखा नपाको परिणाम सार्वजनिक भइसकेको छैन। तर मेयर कांग्रेसको हातबाट गुम्ने पक्का भएको छ। कतिपय कांग्रेसजनले निवर्तमान मेयर पन्तको सामूहिक छलफलमा बिश्वास नगर्ने बानीका कारण रुष्ट भएका मतदाताले निर्वाचनमा मत नदिएर असन्तुष्टी व्यक्त गरेको टिप्पणी गर्ने गरेका छन्।
यसैगरी, पालुङटार नगरपालिकामा कांग्रेसले निवर्तमान मेयर दीपक कँडेलको नाममा सहमती गरी उम्मेदवारी दर्ता गरिएको थियो। तर जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवासंग भेटेर पालुङटार आफ्नो पार्टीलाई छाड्न आग्रह गरेपछि कांग्रेसले कँडेलको नाम फिर्ता गर्ने निर्णय गर्यो। जुन निर्णयलाई पालुङटारका कांग्रेसले स्वीकारेनन्। अन्ततः कँडेलको उम्मेदवारी त कायम भयो तर उनी पार्टीभित्रको आन्तरिक द्धन्दका कारण पराजित हुने अबस्थामा पुगेका छन्। क्षमतावान युवा नेता कँडेलले खासगरी भूकम्पका बेला नगरपालिकामा उदाहरणीय काम गरेका थिए। जसका कारण उनी जनतामाझ लोकप्रिय थिए।
उता, आरुघाट गाउँपालिकाको अध्यक्षमा भने कांग्रेसका उम्मेदवार राजु गुरुङ र उपाध्यक्षमा कांग्रेसकै कल्पना नेपाली विजयी भएकी छन्। अध्यक्षमा गुरुङ ५ हजार ५५६ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा नेपालीले ५ हजार ६३१ मत ल्याएकी छन्। अध्यक्षका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार कृष्ण बहादुर नेपाली ४ हजार ८३३ मत ल्याएका थिए।
सिरानचोक गाउँपालिकाको मतगणना जारी छ। हालसम्मको अबस्था हेर्दा त्याँहा कांग्रेसले जित्ने संभाबना छ। तर चुमनुब्रीको मंगलबार रातिमात्र मतगणना शुरु भएको छ। बिगतमा कांग्रेसले जितेको चुमनुब्री पनि यस पटक कांग्रेसका लागि त्यहि सहज भने देखिदैन।