असार पहिलो सातादेखिको अबिरल बर्षाका कारण हिमाली जिल्ला मनाङ जिल्लामा निकै ठूलो क्षति पुगेको छ। बाढी पहिरोबाट चामे–बेसिशहर सडक अवरुद्ध हुन पुगेको छ।
बाढीबाट तल्लो मनाङको चामे र नासो गाउँपालिकाका साथै माथिल्लो मनाङको मनाङ–ङिस्याङ गाउँपालिका बढी प्रभाबित भएका छन्।
चामे गाउँपालिकाबाट मनाङ–ङिस्याङ गाउँपालिका जाने सडक अवरुद्ध भएको छ। यसैगरी मनाङ–ङिस्याङ गाउँपालिकाको मनाङ गाउँ–हूम्डे विमानस्थल सडक खण्ड पनि अबरुद्ध भएको छ। ऐतिहासिक र साँस्कृतिक धरोहरको रुपमा रहेको मनाङ जिल्लाको पुरानो भ्राका गुम्वामा पनि क्षति पुगेको छ।
बाढीबाट क्षति पुगेपछि नेपाली कांग्रेस मनाङका सभापतिसमेत रहेका पूर्बमन्त्री टेकबहादुर गुरुङले हुम्डे विमानस्थल र आसपासको क्षेत्रको अवलोकन गर्नुका साथै त्याँहाको वस्तुस्थितिबारे जानकारी लिएका थिए।
बाढी प्रभाबित क्षेत्रको अबलोकन गरी पीडितहरुलाई राहत सामग्री बितरण गरेका छन्। उनले हुम्डे, सदरमुकाम चामे, तिमाङ, दानक्यू, घेलानचोक, ताचे, तिल्चे, धारापानी र ताल क्षेत्रको अवलोकन गर्नुका साथै ती क्षेत्रमा सोलार बत्ती, औषधि तथा त्रिपाल वितरण गरेका थिए। साथै पूर्बमन्त्री गुरुङले स्थानीय र जनप्रतिनिधिसँग भविष्यमा अवलम्बन गर्नुपर्ने कामबारे छलफल गरेका थिए। उनले पदमा भए पनि नभए पनि स्थानीयको दुःख सुखमा आफूले सधैं सँगै रहने प्रतिबद्धता जनाए।
स्थलगत अवलोकनपछि सदरमुकाम चामे आएर जिल्ला प्रशासन कार्यालयमा छलफल गरेका थिए। स्थलगत अवलोकनपछि पूर्वमन्त्री गुरुङ र गण्डकी प्रदेश संसद चिन्ता बहादुर घलेले प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेसँग भेटेर समस्याको समाधानका लागि सर्वदलीय बैठक बोलाउन माग गरेका छन्। उनीहरुले बाढी–पहिरोबाट क्षतिग्रस्त घर, बाटो, बिजुली, सञ्चार सेवा सञ्चालनका लागि चाल्नुपर्ने तत्कालीन र दीर्घकालीन कार्ययोजनाबारे छलफल गरेका थिए।
छलफलमा पूर्वमन्त्री गुरुङ र संसद घलेले उद्धार र राहतको कार्यक्रम सम्पन्न भइसकेकाले बर्षायामको पुर्वतयारी र आगामी दिनमा अघि बढाउनु पर्ने कार्यक्रमका साथै दीर्घकालीन योजना तर्जुमा गर्नुपर्नेमा ध्यानाकर्षण गराएका थिए।
प्रजिअ लामिछानेले बाढी–पहिरोबाट भएका क्षति, उद्धार र राहत सम्बन्धमा जानकारी गराउँदै यसै साताभित्र मनाङबाट प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख, बुद्धिजीवी, गाउँकपालिका प्रमुख तथा वडाध्यक्ष सम्मिलित सर्वदलीय बैठक बोलाउने जानकारी गराए।
खाद्यान्न संकट
यातायात अबरुद्ध भएपछि बाहिरी जिल्लाबाट आएर काम गर्नेहरुका लागि खाद्य संकट हुने देखिएको छ। हालसम्म स्थानीय व्यवसायीले खाना खुवाउने व्यबस्था मिलाएको भए पनि सीमित खाद्यान्नका कारण मनाङ–ङिस्याङ गाउँपालिकामा छिट्टै खाद्य संकट आउने स्थानीय व्यबसायी बिनोद गुरुङको भनाई छ। मुस्ताङ–थोरोङ्ला–मनाङ पैदल मार्गबाट खच्चडमार्फत खाद्य सामाग्री ल्याउने व्यबस्था मिलाउनु पर्नेमा स्थानीयले जोड दिएका छन्।