प्यूठानको सरुमारानी गाउँपालिकाले बड्डाँडास्थित जनता माविमा पढ्नका लागि घण्टौं हिडेर आउन बाध्य विद्यार्थीको समस्यालाई ध्यानमा राखेर विद्यार्थी ओसारपसार गर्न छुट्टै गाडीको व्यबस्था गरेको छ। गाउँपालिका अध्यक्ष झगबहादुर बिकको प्रयासमा यो संभब भएको हो।
विद्यार्थीलाई २ घण्टासम्म पैदल हिडेर स्कुल आउनुपर्ने बाध्यता रहेकोमा अहिले उनीहरु गाडीबाट २० मिनेटमै स्कुल पुग्छन्। जबकि हिजोका दिनमा प्यूठान सदरमुकाम जाने गाडी चढ्न विद्यार्थीहरु सडकमा उभिएर चालकलाई नमस्कार गर्ने गर्दथे। तैपनि हत्तपत्त गाडी रोकिदैनथ्यो। अर्कातिर हरेक दिन आउजाउ गर्दा गाडीभाडा तिर्न पनि अभिभाबकलाई समस्या पथ्र्यो। यो समस्याबारे थाहा पाएर पनि आर्थिक अबस्था कमजोर हुँदा स्कुलले समाधानको उपाय निकाल्न सकेको थिएन।
तर यो समस्यालाई नजिकबाट हेरेको गाउँपालिकाले समाधानको उपाय निकाल्यो, गाडीको व्यबस्था गरेर। गाउँपालिका अध्यक्ष झगबहादुर बिक भाडा तिरेर गाडीमा पठाउन अभिभाबकोे क्षमता नहुने र स्कुलको पनि आर्थिक अबस्था कमजोर भएपछि गाउँपालिकाको बजेटबाट गाडी भाडा तिनेए व्यबस्था मिलाइएको बताउँछन्। विद्यार्थीहरु कहिले स्कूल नजाने,कहिले बीच बाटोबाट फर्कने गरेकोमा गाडीको व्यबस्था गरेपछि नियमित हुन थालेको अध्यक्ष बिकको भनाई छ। यसबाट समयको मात्र बचत भएको छैन, विद्यार्थीको पढाईमा पनि सुधार आएको उनी बताउँछन्।
प्रधानाध्यापक योगकुमार पाण्डेका अनुसार कक्षा ३ देखि १० सम्मका १०७ जना विद्यार्थी गाडीबाट आउजाउ गर्छन्। गत आर्थिक बर्षदेखि गाउँपालिकाले गाडीका लागि बजेट छुट्याएको हो। अघिल्लो आर्थिक बर्षको मध्यतिरबाट शुरु गरिएकोले गत बर्ष ४ लाख ५० हजार खर्च भएको थियो। अध्यक्ष बिकका अनुसार चालु आबमा गाउँपालिकाले ७ लाख बजेट छुट्याएको छ। यसमा सम्बन्धित विद्यालयको पनि अपनत्व होस् भनेर ५० हजार स्कुलले छुट्याएको छ।
गाउँपालिका अध्यक्ष बिक आफै पूर्ब शिक्षक पनि हुन्। उनी सरस्वती मावि चाभाका सहायक प्रअ हुन्। १० बर्ष ४ महिना पढाएका उनी गत स्थानीय चुनाबअघि राजीनामा दिएर गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। पूर्ब शिक्षक भएकाले पनि उनी शैक्षिक अबस्था सुधारमा लागि परेका छन्। उनकै पहलमा गाउँपालिका क्षेत्रका सबै माध्यमिक विद्यालयमा स्मार्ट बोर्डबाट अध्यापन गराउने गरिएको छ। जहाँ ७ वटा मावि संचालनमा छन् ।