राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजक परिवर्तन भएसँगै भाँडभैलो सुरू भएको छ। गत मंगलबार बसेको राजपाको अध्यक्ष मण्डलको बैठकले राजेन्द्र महतोलाई संयोजक बनाउने बहुमतबाट निर्णय गरेको थियो। तर, संयोजक परिवर्तन भएपछि महन्थ ठाकुर निकट नेताहरुले तीब्र असन्तुष्टि जनाएका छन्।
राजपाको विधानमा राजपाले गर्ने हरेक निर्णय अध्यक्ष मण्डलका सदस्यहरूको सर्वसम्मतीबाट हुनु पर्ने व्यवस्था छ। संयोजक फेर्ने जस्तो निर्णय बहुमतबाट गर्नु भनेको पार्टीको विधान उल्लंघन गर्नु भएको ठाकुर निकट नेताहरुको भनाइ छ। राजपाका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लाल भन्छन्,‘संयोजक फेर्ने निर्णय बहुमतबाट गरिएको छ। यो सरासर पार्टीको विधान विपरित छ।’
महाधिवेशनको संघारमा संयोजक फेर्ने निर्णयले गरेर पार्टीमा विवाद उत्पन्न गर्न खोजिएको उनले बताए। उनले भने,‘पार्टी एकताका लागि हामीले हदैसम्म प्रयास गरेका छौं। तर, उनीहरु (महतो लगायतका नेताहरु)ले पार्टी विभाजनसम्मको प्रयास गरेका छन्।’
स्रोतका अनुसार गत मंगलबार संयोजक फेर्ने निर्णय गर्दा अध्यक्ष मण्डलका सदस्य अनिल झाले तीब्र असन्तष्ट जनाएका थिए। उनले यो निर्णयमा नोट अफ डिसेन्ट पनि लेखेका थिए। स्रोतका अनुसार विज्ञप्तिको मस्यौदा बनाउदा सुरुमा सहमतिबाट संयोजक फेरिएको भन्ने वाक्य प्रयोग गरिएको थियो। तर, यसमा झाले आपत्ति जनाएपछि सहमतिबाट भन्ने वाक्यलाई केरेर बहुमतबाट भन्ने वाक्य लेखिएको थियो।
गत असारमा बसेको राजनीतिक समितिको निर्णयले आगामी महाधिवेशनसम्म अध्यक्ष मण्डलको संयोजकमा महन्थ ठाकुरलाई मान्ने र महाधिवेशनपछि एकल नेतृत्वमा जाने निर्णय गरेको थियो। सो निर्णयलाई पनि उल्लंघन गरिएको ठाकुर निकट नेताहरु बताउँछन्।
मंगलबारको बैठकले ठाकुरले यसअघि गरेका सबै मनोनय पनि रद्ध गर्ने निर्णय गरेसँगै उनीनिकट नेताहरु असन्तुष्ट भएका छन्। महाधिवेशनको मिति घोषणा गरेपछि ठाकुरले ४ जनालाई महासचिव, ४ जनालाई सहमहासचिव तथा केहीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।