आलोचना र टिकाटिप्पणीले पटक-पटक चर्चामा आउने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत फेरि पनि चर्चा बटुलेका छन् ।
खासगरी संघीय सरकारलाई आलोचना गरी सञ्चारमाध्यमका साथै सामाजिक सञ्जालमा समेत चर्चामा रहने मुख्यमन्त्री लालबाबु राउतसँगै सामाजिक विकासमन्त्री नवलकिशोर साहसमेत चर्चामा छन् । तर पछिल्लोपटक मुख्यमन्त्री राउत आलोचना र टिकाटिप्पणीका कारण नभई सञ्चार माध्यममा आपत्तिजनक शब्द प्रयोग गरी चर्चामा छन् ।
एक अनलाइन न्युज पोर्टलको युट्युब अन्तर्वार्तामा मुख्यमन्त्री राउतले आपतिजनक शब्द प्रयोग गर्दै सञ्चारकर्मीसँग अपशब्द प्रयोग गरेको भिडियो अहिले सामाजिक सञ्चालमा भाइरल बनेको छ । मुख्यमन्त्री राउतको भिडियो भाइरल भइरहेकै बेला प्रदेश २ का सामाजिक विकासमन्त्री साहको भिडियो पनि चर्चामा छ । साहले केही दिनअघि मन्त्रालयको कुर्सीमै बसेर गाली-गलौज गरिरहेको भिडियो सार्वजनिक भएको छ ।
मन्त्री साह एसईई परीक्षा अनुगमनका क्रममा जनकपुर परीक्षा केन्द्रमा परीक्षा निरीक्षकलाई अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेका थिए । परीक्षा केन्द्रमा मन्त्रीले शिक्षकसँग गरेको व्यवहारको चौतर्फी आलोचना भएको थियो । प्रदेशका मुख्यमन्त्री र मन्त्री स्तरका व्यक्तिले प्रयोग गरेको भाषा, अपशब्द, गाली-गलौजले सरकारको चौतर्फी आलोचना हुन थालेको छ ।
कर्मचारी र पत्रकारलाई जुत्ताले हान्ने धम्की दिएर विवादित बनेको सामाजिक विकासमन्त्री साहले मन्त्रालयमै गाली-गलौज गरेको भिडियो सार्वजनिक भएको हो । पद र गरिमाको समेत ख्याल नगरी मुख्यमन्त्री लालबाबु राउत, सामाजिक विकासमन्त्री साहले अपशब्द र गाली-गलौजमै उत्रिएका छन् ।
सरकारका मन्त्रीहरुको भिडियो भइरल हुनुअघि केही महिनाअघि प्रदेश २ का मन्त्री–सचिव कुटाकुट घटनामा तत्कालीन उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झाले मन्त्रीलाई गरेको गाली चर्चामा आएको थियो । आर्थिक मामिलामन्त्री विजय यादवको कार्यकक्षमा भएको कुटपिटपछि सचिव झाले मन्त्रालयअघि मुख छाड्दै अपशब्द प्रयोग गरेका थिए । सचिव झा प्रदेश मन्त्रालयबाट सरुवा भइसकेका छन् ।
जनकपुरका बुद्धिजीवी सुरेन्द्र लाभले मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीको अभिव्यक्तिले प्रदेश नै लज्जित भएको बताउँछन् । ‘मुख्यमन्त्री तथा मन्त्रीले प्रदेशको प्रतिनिधित्व गरिरहेका छन् । प्रोफेसरसमेत रहिसकेका उनी कसरी यस्ता अभिव्यक्ति दिए ? उनले आत्मालोचना गर्नुपर्छ,’ उनले भने, ‘सामाजिक विकासमन्त्री प्रदेशका एक जिम्मेवार मन्त्री हुनुहुन्छ । तर गालीगलौज गरी उहाँ कस्तो सामाजिक विकास गर्न खोज्दै हुनुहुन्छ ?’